मिटरब्याज पीडितहरूद्वारा सडक अवरुद्ध गरेर धर्ना

जनकपुरधाम, १४ माघ । मिटरब्याज पीडितहरूले आर्थिक शोषणविरूद्ध जनजागरण अभियानको शुरुवात गरेका छन् । मिटरब्याज विरूद्ध किसान मजदुर आन्दोलन नेपालले आजदेखि जनकपुरधामबाट अभियानको शुरुवात गरेको हो । उनीहरुले जनकपुरधामको सड़कमै धर्ना बसेर सडक अवरुद्ध गरेका छन् ।
मिटरब्याज विरूद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाले अभियानको शुरुवात जनकपुरधामबाट गरिएको जानकारी दिए । उनले मिटरब्याजको विरूद्ध आन्दोलनको बिस्तार गर्दै अब यस अभियानलाई अदालतविरूद्ध पनि चरम रूपमा अघि बढाइने बताएका छन् ।
अध्यक्ष कुशवाहाले मिटरब्याजको विरूद्ध संसदमा कानून बनेको भए पनि यसको कार्यान्वयनमा ढिलाई भइरहेको र यस मुद्दामा ६० हजार निवेदन परेको भए पनि अहिलेसम्म १० प्रतिशत पनि पीडितहरूको मुद्दा समाधान नभएको बताउँदै तीव्र असंतोष प्रकट गरे ।उनका अनुसार राज्यको प्राथमिकतामा मिटरब्याज पीडितहरूको मुद्दा नरहेको र यदि यही स्थिति जारी रह्यो भने आन्दोलनको रूप परिवर्तन गर्ने चेतावनीसमेत उनले दिएका छन् ।
यसैगरी, मिटरब्याज विरूद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रिय महासचिव मनोज कुमार पासवानले सरकारसँग तीन चरणको वार्ता भए पनि सम्झौताका विषयहरू कार्यान्वयन नगरी चौथो चरणको आन्दोलनको शुरुवात गरिएको बताए । उनका अनुसार देशभर मिटरब्याज पीडितहरू शोषणमा रहेका छन् र मिटरब्याजको समस्यालाई पहिचान गर्न गठन गरिएको कार्यदलले कुनै कार्य परिणाम दिएको छैन । उनले राज्यका निकायहरूले पीडितलाई झनै पीडित बनाएको आरोप लगाए ।
यस अभियानको प्रमुख उद्देश्य आम उत्पीडित जनसमुदायलाई संगठित र प्रशिक्षित गर्दै न्यायको निमित्त अन्तिम संघर्ष गर्ने संकल्पका साथ जागरुक पार्नु रहेको उनले बताए । यसले मिटरब्याजी साहु, वित्तीय माफियाहरू, भू–माफियाहरू र यसका संरक्षकहरूको विरूद्ध जनसमुदायलाई सचेत गर्दै स्वतः सशक्त संघर्षमा संलग्न हुने वातावरण सिर्जना गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।
माघ १४ देखि फागुन २७ गतेसम्म सञ्चालन हुने ४४ दिने आर्थिक शोषण विरुद्ध जनजागरण अभियानलाई भव्य रुपले सम्पन्न गर्न देहायबमोजिम कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरिएको छ :
१. निपसु संगठन अभियान
माघ १४ देखी फागुन ११ गतेसम्म २५ दिनभित्र तहगत समितिहरुको गठन पुनर्गठन गर्दै आन्दोलनलाई थप सशक्त गर्न संगठित पहल अनिवार्य हुनेभएकोले संगठन निर्माण, परिचालन र सुदृढिकरण (निपसु) अभियान संचालन गरिनेछ ।
२. अदालतको ध्यानाकर्षण
मिटरव्याज लगायत सबैखाले आर्थिक शोषणका पीडितहरु माथी अदालतको एक्लौटी एवम् यान्त्रिक फैसालाका कारण भईरहेको ज्यादतिका विरुद्ध देशैभरका जिल्ला अदालतहरुलाई ज्ञापन पत्र मार्फत् ध्यानाकर्षण ग गराइनेछ । यसलाई अदालत घेराऊ कार्यक्रमका रुपमा हाल सम्म विभिन्न जिल्लामा सफलतापुर्वक सम्पन्न गरिसकिएको छ । अब, जनजागरण अभियानको अवधि भर सवै जिल्ला कार्यसमितिले यसप्रकारको कार्यक्रम अनिवार्य सम्पन्न गरिनेछ ।
३. जाहेरी दरखास्त
मुलुकी अपराध संहिता–२०७४ को दफा २४९ ’क’ अनुरुप केन्द्रीय कार्यालयको संयोजनमा जिल्ला अन्तर्गतका कुख्यात ठुला मिटरब्याजी साहुहरुका विरुद्ध पीडितहरुले संयुक्त जाहेरी दरखास्त दिइनेछ । मिति २०८१ फाल्गुण १८ गते देशैभरका जिल्ला प्रहरी कार्यालयमा जुलुस सहित उपस्थित भई जाहेरी दर्ता गर्ने कार्यक्रम आयोजना गरिनेछ ।
४. अन्तरक्रिया कार्यक्रम
सरोकारवाला निकाय तथा जनप्रतिनिधिलाई मिटरव्याज लगायत सबैखाले आर्थिक शोषणका पीडितको सम्बन्धमा सार्वजानिक धारणा राख्न, पीडितको न्यायीक संघर्षमा ऐक्यबद्धता जनाउन र सम्पुर्णरुपले सहयोग गर्न आग्रह गर्दै सबै तहगत समितिहरुले अन्तरक्रिया कार्यक्रम संचालन गरिनेछ । अन्तरक्रिया कार्यक्रमका दौरान सम्पर्क गरिएका निकाय वा जनप्रतिनिधि तथा उहाँहरुको प्रतिक्रिया र सार्वजानिक वक्तव्यलाई अभिलेखको रुपमा संग्रहित गर्दै जनउत्तरदायी बनाउन दवाव दिइनेछ । केन्द्रीय कार्यालयको आयोजनामा मिति २०८१ फाल्गुण २० गते काठमाण्डौँमा वृहत अन्तरक्रिया आयोजना गरिनेछ ।
५. स्थानिय जनसंघर्ष
मिटरव्याजी साहु महाजन र शोषक सहकारी, लघुवित्त लगायतका वित्तीय संस्थाको ज्यादती विरुद्ध विभिन्न प्याली, जुलुस, धर्ना जस्ता कार्यक्रमहरु सञ्चालन गरीनेछ । साहुमहाजनहरुले हडपेका तथा पीडितको लिलाम सकारेका जग्गामा भोगचलन कायम राख्न उक्त जग्गा कब्जा गरी पीडितहरुको भोगचलन सुनिश्चित गराउदै मिति २०५१ फाल्गुण १२ देखी १७ गतेसम्म जग्गा कब्जा कार्यक्रम संचालन गरीनेछ । संघर्षको सामथ्र्य स्थानिय समितिहरुको सक्रियतामा निर्भर रहने भएकोले जनसहभागितामा बिशेष जोड दिइनेछ । हामीसबै जस्तोसुकै किसिमको संघर्ष र संघर्षमा आर्थीक, बौद्धिक तथा भौतिक योगदान गर्न कुनैपनि प्रकारले पछि नहटि प्रतिकारको अग्रमोर्चामा नेतृत्वदायी भुमिका निर्वाह गर्न प्रतिबद्ध छौं ।
६. प्रचारप्रसार
केन्द्रीय कार्यालयद्धारा जारी हुने अपिल, पर्चा, पम्पलेट पोस्टरहरुलाई तहगत समितिले स्थानीय विशेषताका आधारमा परिमार्जन गरि ब्यापक रुपमा प्रचार गरि आम पीडित सम्म पुर्याइनेछ । यसका लागी सबै तहगत समितिहरुले प्रचारप्रसार समुह बनाई कार्य गर्नेछ । यसैक्रममा भित्ते लेखनलाई पनि तिव्रता दिइनेछ । हाम्रो आन्दोलनका नाराहरुलाई विभिन्न स्थानका भित्ताहरुमा लेखिनेछ । प्रचारप्रसारको कामलाई सबै तहगत समितिहरुले केन्द्रीय सामाजिक संजालमा फोटो भिडियोको रुपमा राख्नेछ । आन्दोलनका सम्बन्धमा प्रकाशित छापा सामाग्रीहरु समेतलाई जनस्तरमा पुग्ने गरी अभियान संचालन गरिनेछ । अभियानले सुचनाको अभाव वा विभिन्न कारणले खुलेर आन्दोलनमा नआएका पीडितहरुलाई प्रोत्साहन गर्नेछ ।
७. सि.डि.ओ कार्यालयहरुमा देशव्यापी १ दिने धर्ना
जनजागरण अभियानको अन्त्य तिर केन्द्रीत आन्दोलन गर्ने चेतावनी सहित मिति २०६१।११।२५ गते देशैभरी एकैदिन १०ः०० बजे देखी ५ः०० बजेसम्म धर्ना दिइनेछ ।
८. केन्द्रीत आन्दोलन
आम उत्पीडित जनसमुदायलाई संगठित र प्रशिक्षित गर्दै न्यायको निमित्त अन्तिम संघर्ष गर्ने संकल्पका साथ जागरुक गराउनु नै अभियानको प्रमुख उद्धेश्य रहने छ । यसले मिटरब्याजी साहु, वित्तिय माफियाहरु, भू–माफियाहरु र त्यसको संरक्षक एवम् मतियारको रुपमा रहेको राज्य विरुद्ध आम नागरिकहरुलाई सुसुचित गर्दै स्वस्फूर्त रुपमा सशक्त संघर्ष गर्न सबैखाले तयारी सम्पन्न गरि जनजागरण अभियानको अन्त्यमा केन्द्रीत आन्दोलनको घोषणा गरिनेछ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


