धनुषाधाममा श्रीमानद्वारा लौरो प्रहार गरी श्रीमतीको हत्या

जनकपुरधाम, १३ माघ । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर–५ उमाप्रेमपुर पर्वतामा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् ।
घरेलु विवादका कारण ३३ वर्षीय देवलाल ठाकुरले आफ्नै श्रीमती २९ वर्षीया संगीता ठाकुरको हत्या गरेका हुन् ।
स्थानीयका अनुसार श्रीमान–श्रीमतीबीच सामान्य विवाद सुरु भएपछि देवलाल ठाकुरले आक्रोशमा आएर श्रीमतीको टाउकोमा लौरो प्रहार गरेका थिए । लौरो प्रहारबाट श्रीमती संगीता ठाकुरलाई गम्भीर चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
मृतक ठाकुरको माइती जनकपुरधाम उपमहानगरपालिका महुवा कपिलेश्वरमा छ । माइतीपक्षले यो घटनालाई घरेलु हिंसाको चरम रुप भन्दै तत्काल न्यायको माग गरेका छन् ।
धनुषाधाम प्रहरी घटनास्थलमा पुगेर देवलाल ठाकुरलाई नियन्त्रणमा लिइसकेको र हत्या सम्बन्धी अनुसन्धान प्रक्रियालाई अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानले घटनाको मुख्य कारण घरेलु विवाद नै रहेको संकेत गरेको छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ । पोष्टमार्टम रिपोर्टपछि थप विवरण बाहिर आउने र अनुसन्धानलाई अगाडि बढाउने प्रहरीले बताएको छ ।
घरेलु हिंसा, महिला हिंसाको विरुद्धमा अझै धेरै काम गर्नुपर्ने आवाज उठिरहेको बेला, यस्तो घटनाले समाजमा रहेको लुकेको हिंसाको प्रकृति झल्काएको छ ।
धनुषा प्रहरीले घटनाका सम्बन्धमा छिटो न्याय दिलाउने प्रतिबद्धता जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


