जनकपुरधाम, ११ माघ । मिटरव्याज पीडितहरूले आर्थिक शोषणविरूद्ध जनजागरण अभियानको शुरुवात गर्ने घोषणा गरेका छन् ।

यस अभियानको शुरुवात माघ १४ गते सोमबारदेखि हुने जानकारी मिटरव्याज विरूद्ध किसान मजदुर आन्दोलन नेपालले शुक्रवार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको हो ।

मिटरव्याज विरूद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाले उक्त अभियानको शुरुवात जनकपुरधामबाट गर्न लागेको जानकारी दिए । उनले पत्रकार सम्मेलनमा मिटरव्याजको विरूद्ध आन्दोलनको बिस्तार गर्दै अब यस अभियानलाई अदालतविरूद्ध पनि चरम रूपमा अघि बढाइने बताए ।

अध्यक्ष कुशवाहाले मिटरव्याजको विरूद्ध संसदमा कानून बनेको भए पनि यसको कार्यान्वयनमा ढिलाई भइरहेको र यस मुद्दामा ६० हजार निवेदन परेको भए पनि अहिलेसम्म १० प्रतिशत पनि पीडितहरूको मुद्दा समाधान नभएको बताउँदै तीव्र असंतोष प्रकट गरे । उनका अनुसार राज्यको प्राथमिकतामा मिटरव्याज पीडितहरूको मुद्दा नरहेको र यदि यही स्थिति जारी रह्यो भने आन्दोलनको रूप परिवर्तन गर्ने चेतावनीसमेत उनले दिएका छन् ।

यसैगरी, मिटरव्याज विरूद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रिय महासचिव मनोज कुमार पासवानले सरकारसँग तीन चरणको वार्ता भए पनि सम्झौताका विषयहरू कार्यान्वयन नगरी चौथो चरणको आन्दोलनको तयारी भइरहेको बताए । उनका अनुसार देशभर मिटरव्याज पीडितहरू शोषणमा रहेका छन् र मिटरव्याजको समस्यालाई पहिचान गर्न गठन गरिएको कार्यदलले कुनै कार्य परिणाम दिएको छैन । उनले राज्यका निकायहरूले पीडितलाई झनै पीडित बनाएको आरोप लगाए ।

यस अभियानको प्रमुख उद्देश्य आम उत्पीडित जनसमुदायलाई संगठित र प्रशिक्षित गर्दै न्यायको निमित्त अन्तिम संघर्ष गर्ने संकल्पका साथ जागरुक पार्नु रहेको छ । यसले मिटरव्याजी साहु, वित्तीय माफियाहरू, भू–माफियाहरू र यसका संरक्षकहरूको विरूद्ध जनसमुदायलाई सचेत गर्दै स्वतः सशक्त संघर्षमा संलग्न हुने वातावरण सिर्जना गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।

मिटरव्याज पीडितहरूको जनजागरण अभियानको कार्यक्रम माघ १४ गते जनकपुरधाममा हुने वृहत घोषणा सभामा सार्वजनिक गरिनेछ । यस अभियानले जनतामा मिटरव्याजको समस्या र यसको समाधानको आवश्यकता बारे गहिरो सचेतना फैलाउने बताइएको छ ।

यस अभियानले नागरिकलाई मिटरव्याजको समस्यामा सशक्त बनाउँदै सामाजिक र आर्थिक न्यायको पक्षमा एकता र संघर्षको नयाँ लहर ल्याउने विश्वास गरिएको छ ।