जनकपुरधाम, ८ माघ । रामानन्द जयन्ती महोत्सवको अवसरमा प्रमुख धार्मिक स्थल जनकपुरधाममा विशेष पूजा र कार्यक्रमहरु आयोजना गरिएको छ । यस अवसरमा जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले जयन्ती पूजन सम्पन्न गरेका छन् ।
श्री रामानन्दीय श्री वैष्णव संघले मंगलबार रामानन्द आश्रममा रामानन्द जयन्ती आचार्य पूजनसहित धर्म सभा र शोभायात्राको आयोजना गरेको थियो । कार्यक्रमको विशेष आकर्षण शोभायात्रा रहेको थियो ।
शोभायात्रामा भक्तजन र धार्मिक व्यक्तिहरुको भव्य सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन महन्थ राम तपेश्वर दासले गरेका थिए । त्यस अवसरमा तात्त्विक एवं धार्मिक प्रवचन पनि सुनाइएको थियो ।
कार्यक्रममा सहभागी भक्तजनलाई श्री रामानन्दीय श्री वैष्णव संघका अध्यक्ष समेत रहेका जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासले मंगल बधाई गान गाएर शुभकामना दिएका थिए । साथै तुलसी स्मारकमा विशेष प्रसादसमेत वितरण गरिएको थियो ।
महाकवि तुलसीदासको स्मृति र रामानन्द जीको योगदानलाई सम्झनुका साथै रामानन्द जयन्ती महोत्सवको महत्वलाई उद्घाटित गर्दै महन्थ दासले रामायणका श्लोक र रामकथा वाचन गरि सम्पूर्ण वैष्णव संघ परिवारलाई धर्म मार्गमा दृढ रहन प्रेरित गरे ।
कार्यक्रममा सम्पूर्ण वैष्णव संघ परिवारका सदस्यहरु, विभिन्न धार्मिक गुरु र भक्तजनहरुको भव्य उपस्थिती रहेको थियो । शोभायात्रामा राम, सीता र अन्य धार्मिक पात्रहरुको रूप धारण गरेर श्रद्धालुहरुले धार्मिक धारा र परम्पराको निर्वाह गरेका थिए ।