जनकपुरधाम, ८ माघ । धनुषा जिल्लामा घरेलु र सामाजिक हिंसाका घटनाहरू एक गम्भीर र संवेदनशील विषय बनेका छन् । यी हिंसाका घटनाहरू समाजको विभिन्न पाटोमा प्रभाव पार्दै आइरहेका छन् । यसले समग्र समाजको स्वास्थ्य, विकास र समृद्धिमा ठूलो असर पुर्याइरहेको देखिन्छ ।
घरेलु हिंसा भन्नाले घरपरिवारका सदस्यहरू बीचको हिंसा अन्तर्गत पर्दछ । जसमा महिला, बालबालिका र बुजुर्गहरू प्रमुख रुपमा प्रभावित हुन्छन् । यो हिंसा मानसिक, शारीरिक, आर्थिक र यौन हिंसा स्वरुपमा हुन सक्छ ।
धनुषा जिल्लामा २०७८/०७९, २०७९/०८० र २०८०/०८१ को त्रि–वर्षीय विवरण अनुसार घरेलु हिंसाका घटनाहरूमा वृद्धि भएको देखिन्छ । २०७८/०७९ मा ८३५ उजुरी दर्ता हुँदा २०७९/०८० मा यो संख्या ८५३ पुगेको छ । २०८०/०८१ मा उजुरीको संख्या १ हजार २० मा पुगेको तथ्यांक छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले घरेलु हिंसाका प्रमुख कारणहरूमा आर्थिक असमानता, मादक पदार्थको सेवन र पारिवारिक संघर्ष रहेको बताए ।
उनले भने, ‘यी घटनाहरू प्रायः महिलाहरू र बालबालिकाहरूसँग सम्बन्धित हुन्छन् । धनुषामा, घरेलु हिंसा प्रायः पतिसँगको शारीरिक र मानसिक दुव्र्यवहारको रूपमा देखा पर्दछ । महिलाहरूलाई शारीरिक र यौन दुव्र्यवहारका साथै मानसिक यातना पनि सहनु पर्छ । घरेलु हिंसा विभिन्न कारणहरूले उत्पन्न हुन सक्छ । जसमा पितृसत्तात्मक मानसिकता, असमानता, आर्थिक अवस्था र समाजिक दबाब प्रमुख कारण रहेको देखिएको छ ।’
धनुषामा घरेलु हिंसा सँगसँगै सामाजिक हिंसाका घटनाहरूमा समेत वृद्धि भएको देखिएको छ । जातीय भेदभाव, लिङ्ग भेदभाव र शोषण हाम्रो समाजको एक प्रमुख चुनौती रहेको र यसले सामाजिक समरसता तथा शान्तिपूर्ण जीवनमा ठुलो असर पुर्याउने गरेको पाइन्छ ।
धनुषा जिल्लामा २०७८/०७९ देखि २०८०/०८१ को अवधिमा सामाजिक हिंसामा पनि वृद्धि भएको देखिन्छ । जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतका निकायमा आर्थिक वर्ष २०७८/०७९ मा ५६८ उजुरी दर्ता भएका थिए भने २०८०/०८१ मा ७८१ उजुरी दर्ता भएका छन् । यसबाट सामाजिक हिंसाका घटनाहरूको संख्या क्रमशः बढ्दै गएको देखिन्छ ।
धनुषा जिल्लामा भएका यी हिंसाका घटनाहरू मिलापत्र र अदालत जानुका विभिन्न विवरणहरूबाट हामीले थाहा पाएका छौं कि हिंसा सम्बन्धी घटनाहरूको समाधान खोज्न विभिन्न प्रयासहरू भइरहेका छन् । २०७८/०७९ मा ७२६ घटनामा मिलापत्र भएको र १३ घटना अदालत पुगेको थियो भने २०८०/०८१ मा ८९४ घटनामा मिलापत्र भएको र ३६ घटना अदालत पुगेको विवरण छ ।
तर, अझै पनि धेरै घटनाहरूको समाधान अदालतसम्म पुगेको छैन । र, यो समस्या अझै पनि गम्भीर रहेको छ । यसको प्रमुख कारण समाजमा हिंसाविरुद्ध कानूनी कदमहरूको प्रभावकारिता र समाजको संवेदनशीलतामा कमी रहेको एसपी तिवारी बताउँछन् ।
धनुषा जिल्लामा घरेलु र सामाजिक हिंसाका घटनाहरूले समाजलाई एक गम्भीर चुनौती दिएको उनको भनाइ छ ।
धनुषा जिल्लामा घरेलु हिंसाको त्रि–वर्षीय विवरण यसप्रकार छ :
२०७८/०७९ मा
उजुरी दर्ता ८३५
मिलापत्र भएको ७२६
अदालत गएको १३
सम्पर्कमा नआएको ९६
२०७९/०८० मा
उजुरी दर्ता ८५३
मिलापत्र भएको ७७१
अदालत गएको शून्य
सम्पर्कमा नआएको ८२
२०८०/०८१ मा
उजुरी दर्ता १ हजार २०
मिलापत्र भएको ८९४
अदालत गएको ३६
सम्पर्कमा नआएको ९०
सामाजिक हिंसाको त्रि–वर्षीय विवरण :
२०७८/०७९ मा
उजुरी दर्ता ५६८
मिलापत्र भएको ४७४
अदालत गएको शुन्य
सम्पर्कमा नआएको ९४
२०७९/०८० मा
उजुरी दर्ता ६३८
मिलापत्र भएको ५५१
अदालत गएको शून्य
सम्पर्कमा नआएको ८७
२०८०/०८१ मा
उजुरी दर्ता ७८१
मिलापत्र भएको ६७४
अदालत गएको ७
सम्पर्कमा नआएको १००
आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि पुष महिनासम्मको घरेलु हिंसाको विवरण :
उजुरी दर्ता ५३०
मिलापत्र भएको ३१६
अदालत गएको २
बाँकी २१२
आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि पुष महिनासम्मको सामाजिक हिंसाको विवरण :
उजुरी दर्ता ४०८
मिलापत्र भएको २२७
अदालत गएको शुन्य
बाँकी १८१