महोत्तरी, ८ माघ । महोत्तरीको सोनमा गाउँपालिका–२ स्थित बस्तीछेउमा एक युवकको शव फेला परेको छ । मृतक युवक स्थानीय पूर्वगाविस अध्यक्ष गोखुल यादवका २९ वर्षीय छोरा ज्ञानु भनिने नरेन्द्र यादव रहेको प्रहरीले जनाएको छ ।
शवको अवस्था हेर्दा प्रारम्भिक अनुसन्धानमा हत्याको आशंका गरिएको छ । शव अर्धनग्न अवस्थामा रहेको र गम्छाले घाँटी थिचिएको जस्तो देखिएको छ । घटनास्थलमा डग टोलीको साथ प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट एसपी नकुल पोखरेलको नेतृत्वमा एक टोली घटनास्थल पुगेको हो । एसपी पोखरेलले पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि घटनाको वास्तविकता खुल्ने बताए ।
प्रहरीले घटनाको गम्भीरता र शवको प्रकृति अनुसार छानबिन अगाडि बढाएको छ ।