जनकपुरधाम, ७ माघ । सशस्त्र प्रहरीको गस्ती टोलीले रौतहटबाट पेस्तोल र गोलीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारण मोतिहारी वसन्तपुर ग्राम पञ्चायत–९ बस्ने २६ वर्षीय धनञ्जय कुमार झा रहेको प्रहरीले जनाएको छ ।
धनञ्जयको साथबाट १ थान सेमी अटोमेटिक पेस्तोल, एक म्यागेजिन र ७.६५ एमएमका ४ राउन्ड गोली बरामद गरिएको छ । साथै, उनले प्रयोग गरेको मोटरसाइकल र मोबाइल पनि नियन्त्रणमा लिइएको छ ।
सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँका अनुसार भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका–४, लतमरी नाका क्षेत्रमा शङ्कास्पद गतिविधि देखिएपछि खटिएको टोलीले तीन व्यक्तिलाई चेकजाँच गरेको थियो । यस क्रममा दुई जना फरार भए भने पेस्तोल बोकेका धनञ्जय पक्राउ परेका हुन् ।
बरामद सामग्री र आरोपीलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको प्रहरीले जनाएको छ ।