जनकपुरधाम, ६ माघ । धनुषा जिल्ला प्रहरी कार्यालय धनुषाले २०८० चैत २५ गतेदेखि २०८१ पुष मसान्तसम्मको अवधिमा विभिन्न घटनाहरूको अनुसन्धान र अपराध नियन्त्रणमा उल्लेखनीय प्रगति गरेको जनाएको छ ।

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी कार्यालय प्रमुखको रुपमा हाजिर भएर आएदेखि यस अवधिमा जिल्ला प्रहरी कार्यालयले एक पछि अर्को सफल घटनाको अनुसन्धान र अभियुक्तहरूको गिरफ्तारीमा उच्च कार्यक्षमता देखाएको जनाइएको छ ।

प्रमुख घटनाहरू र अनुसन्धान

२०८१ बैशाख २४ गते धनुषाको जनकपुरधामस्थित हिमालयन बैंक लिमिटेडको शाखाबाट नगद ८० लाख रुपैयाँ लुटपाटको घटनामा तीन जना अभियुक्तलाई नगद १४ लाख ५३ हजारसहित पक्राउ गरिएको थियो । अभियुक्तहरूले पेस्तोलको धम्की दिएर रकम लुटेका थिए । यस घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।

त्यसैगरी, २०८१ असार २ गते जनकपुरधाममा एक भारतीय नागरिकलाई कटुवा पेस्तोलसहित पक्राउ गरिएको थियो । यसमा अनुसन्धान गर्दै अन्य दुई जना अभियुक्तको खोजी कार्य भइरहेको छ । २०८१ चैत २६ गते जनकपुरधाममा एक हत्या घटनाको अनुसन्धानमा २५ वर्षीय अर्जुन साहलाई १ घण्टाभित्रै पक्राउ गरेर ज्यान सम्बन्धी मुद्दामा कारवाही गरिएको थियो । अर्जुन साहले २० वर्षीय प्रिन्स कुमार महासेठलाई चक्कु प्रहार गरी हत्या गरेका थिए ।

२०८१ बैशाख १६ गते धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं. ३ स्थित महुवा गाउँमा ५ जना बालकहरू बेपत्ता भएका थिए । प्रहरी टोलीले तत्परता देखाउँदै तिनीहरूलाई सिरहाको मिर्चेया नगरपालिका ५ स्थित फेला पारेर आफन्तको जिम्मा लगाएको थियो ।

२०८१ मंसिर ८ गते धनुषामा एक शव फेला परेको थियो । यस शवको हत्या गर्ने व्यक्तिहरूलाई घटनास्थलबाट नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको थियो । अझै पनि विभिन्न घटनाहरूका अनुसन्धान कार्य जारी रहेको छ । प्रमुख घटनाहरू जस्तै हत्या, लुटपाट, र संगठित अपराधहरूको अनुसन्धान प्रक्रिया निष्कलंक रहेको एसपी तिवारीले बताए ।

अपराध अनुसन्धान र रोकथाम

धनुषा जिल्ला प्रहरी कार्यालयले २०८० चैत २५ देखि २०८१ पुष मसान्तसम्म १ हजार ९९८ वटा मुद्दा दर्ता गरेको छ । जसमा ७९५ वटा मुद्दा फर्छयौट भएका छन् भने ४८३ मुद्दा अनुसन्धान प्रक्रियामा रहेका छन् । यस अवधिमा १ हजार २३६ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको र २४० वर्ष, २१० महिना, १७७ दिनको कैद सजाय दिइएको उनले जानकारी दिए ।

लागुऔषध ओसारपसार कार्यमा संलग्न ६४ जनालाई नियन्त्रणमा लिइ ६८३ किलोग्राम गाँजा, ३५३ ग्राम ब्राउन सुगर र १ हजार ४०५ ट्याब्लेट नाइट्रोभेटसहित ४६ वटा मुद्दा दर्ता गरिएको छ । यसबाट धनुषामा लागुऔषधको ओसारपसारमा उल्लेखनीय कमी आएको एसपी तिवारीको दावी छ ।

महिला र बालबालिका सम्बन्धी कार्य

महिला र बालबालिकाको सुरक्षा र अधिकारको संरक्षणमा पनि प्रहरी कार्यालयले महत्वपूर्ण कदम चालेको छ । १ हजार ५०७ वटा उजुरीहरूको छानबिन गरी ९८८ वटा सहमति भएका छन् भने ५१९ वटा अनुसन्धान प्रक्रियामा छन् । यस कार्यले महिला हिंसा, बालश्रम र अन्य सामाजिक अपराधहरूको न्यूनिकरणमा मद्दत पुर्याएको छ ।

सार्वजनिक सुरक्षा र ट्राफिक व्यवस्थापन

सार्वजनिक सुरक्षा व्यवस्थापन र ट्राफिक नियमहरूको पालनामा कडा निगरानी राखिएको छ । २० हजार ६८० वटा सवारी साधनलाई ट्राफिक नियम उल्लंघनको कारण जरिवाना गरिएको छ । यसले सवारी दुर्घटनामा कमी ल्याउने दिशामा महत्वपूर्ण भूमिका खेलेको उनले जानकारी दिए ।

समुदाय प्रहरी गतिविधि

समुदाय प्रहरी गतिविधिहरूको क्षेत्रमा पनि यस अवधिमा ठूलो उपलब्धि हासिल भएको छ । १ हजार १७९ वटा कार्यक्रमहरू सञ्चालन गरी ४० हजार ७० जना नागरिकलाई सुरक्षा र कानूनको विषयमा सचेतना प्रदान गरिएको एसपी तिवारीले बताए । यसले स्थानीय समुदायसँग राम्रो समन्वय स्थापना गर्न र सुरक्षा सञ्जाललाई मजबुत बनाउन सहयोग पुर्याएको उनको दावी छ ।

धनुषा जिल्लामा विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रमहरूको सुरक्षामा पनि प्रहरीको सक्रियता देखिएको छ । रामनवमी, हनुमान जयन्ती, जानकी नवमी, दशैँ र दीपावली जस्ता धार्मिक कार्यक्रमहरूमा समुदाय बीच सद्भाव र सहकार्यको वातावरण निर्माण गर्न प्रहरी सक्रिय रुपमा जुटेको थियो ।

धनुषा जिल्ला प्रहरी कार्यालयको कार्य प्रगति विवरणले प्रहरीको कार्यसम्पादनमा उल्लेखनीय सुधार र प्रगति भएको देखाउँछ । अपराध नियन्त्रण, अनुसन्धान, र समाजमा सुरक्षा सुनिश्चित गर्ने क्रममा गरिएको प्रयासको परिणामस्वरूप यस क्षेत्रमा अपराध दरमा कमी आएको र नागरिकहरूको सुरक्षा भावना सुदृढ भएको बताइएको छ ।

समुदायसँगको समन्वय, नागरिक जागरूकता र कडा निगरानीले आगामी दिनहरूमा अझै राम्रो नतिजा दिने अपेक्षा गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।