जनकपुरधाम, ५ माघ । धनुषाको भडरियामा सशस्त्र प्रहरीको सर्च अभियानको क्रममा पेस्तोल सहित दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८ सीतानगरका तेजेश कुमार महत्तो र भारतीय नागरिक रुपेश कुमार यादव रहेका छन् ।

सशस्त्र प्रहरी कार्यालय धनुषाका अनुसार शनिबार दिउँसो ४ बजेको समयमा सहायक प्रहरी निरीक्षक रविन्द्र दाहालको नेतृत्वमा गरिएको सर्च अभियानमा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका ती दुई व्यक्तिहरूलाई पक्राउ गरिएको हो ।

मोटरसाइकलबाट ९ एमएमको ब्राउनिङ्ग पेस्तोल, म्यागजिन र गोली सहित अन्य आपत्तिजनक सामग्री जस्तै ५ ग्राम गाँजा जस्तो देखिने सामान, ३ थान मोबाइल, लाइटर र सलाइ पनि बरामद गरिएको छ ।

पक्राउ परेका व्यक्तिहरू र हतियारलाई आवश्यक कारवाहीका लागि पठाइएको सशस्त्र प्रहरी कार्यालय धनुषाले जनाएको छ ।