“गाईको गोबरमा कला र संस्कृतिको नयाँ आयाम : अमरेन्द्र ठाकुरको अद्वितीय सिर्जना”

–ज्योति झा
जनकपुरधाम, ४ माघ । हुन त कलाकारिताको विभिन्न आयाम र बिधाहरु छन्, जसमा प्रत्येक कलाको एक पृथक विशेषता हुन्छ । कला व्यक्तिको अन्तरदृष्टि र सिर्जनात्मकताबाट प्रवाहित हुन्छ । यस्तै एउटा अद्वितीय र अचम्मको कला महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–७ दनौलीका अमरेन्द्रकुमार ठाकुरले गाईको गोबरमा देखाएका छन् । सामान्यतया गाईको गोबरलाई मल, गुइँठा या अन्य घरेलु कामहरूमा मात्र प्रयोग गरिन्छ । तर, ठाकुरले भने यसलाई एउटा नयाँ रूप दिएर कला बनाएका छन् ।
अमरेन्द्रकुमार ठाकुर, ४७ वर्षका एक किसान र कला प्रेमी हुन् । आफ्नो गाउँमै दुईवटा लोकल गाई पालेर गाईको गोबरलाई कलात्मक आकारमा परिणत गर्न उनी सफल भएका छन् । ठाकुरको प्रारम्भिक जीवन साधारण किसानको रूपमा बित्यो । उनको मुख्य ध्यान कृषिमा थियो । तर, २५ वर्षअघि उनले एउटा ठूलो आर्थिक संकटको सामना गरे । यसले उनका परिवारलाई निकै असर पारेको थियो ।ईट्टाभठा सञ्चालन गर्दा उनले ठूलो घाटा भोग्नुपर्यो र साहु महाजनको ऋण चुक्ता गर्न आफ्नो पुर्खौली सम्पत्ति बेच्न उनी बाध्य भए । त्यसै बेला ठाकुरले आफ्नो जीवन र परिवारलाई सुधार्न केही नयाँ गर्ने योजना बुन्न थाले ।
कोरोना महामारीको लकडाउनमा जब उनी बेरोजगार भए, उनले मोबाइल फोनको माध्यमबाट गाईको गोबरमा कलात्मक आकृति बनाउन सकिने केही भिडियोहरू हेरिरहेका थिए । त्यही समयमा उनले गाईको गोबरलाई एक नयाँ दृष्टिकोणबाट प्रयोग गर्न सकिने सम्भावनाबारे सोच्न थाले । यही सोचको आधारमा उनले गाईको गोबरमा मिथिला चित्रकला र अन्य कलात्मक रूपहरू कोर्न थाले । यसरी गाईको गोबरलाई कलामा परिणत गर्दै उनले आफैंलाई नयाँ व्यवसायमा स्थापित गर्न सफल भए ।
अमरेन्द्र ठाकुरको कला कुनै विशेष तालिम वा औपचारिक शिक्षाबाट आएको होइन । उनले आफ्नो स्वभाविक र सृजनात्मक क्षमताबाट यस कामको शुरुवात गरेका हुन् । उनले बनाएका सामानहरू झनै आकर्षक छन् । यी सामानहरूमा मिथिला चित्रकला र अन्य सजावटी तत्वहरू देखिन्छन् । यी कलात्मकताले वातावरणमैत्री र सांस्कृतिक धरोहरको संरक्षणमा ठूलो योगदान पुर्याउँछन् । गाईको गोबरलाई विभिन्न आकार र रंगका सामानहरूमा परिणत गर्दै ठाकुरले न केवल एक नयाँ कला उत्पन्न गरे, बरु यसलाई आर्थिक रूपमै जोड्न पनि सफल भए ।
प्रकृति र संस्कृति संरक्षणको उद्देश्य राख्दै ठाकुरले गाईको गोबरलाई सजावटका सामग्री, घरका सजावटका सामान, सौन्दर्य साधनहरू र अन्य उपयोगी वस्तुहरूको रूपमा प्रयोग गरेका छन् । यी सामानहरूमा मिथिला चित्रकला कोरिएको हुनाले नेपाली संस्कृतिको एक महत्वपूर्ण अंशको पुनर्निर्माण पनि भएको छ । यसबाट उनी केवल एक व्यवसायी मात्र बनेका छैनन्, बरु नेपाली कला र संस्कृति रक्षाका लागि पनि योगदान पुर्याउँदैछन् ।
गाईको गोबरको उपयोगिता र ठाकुरको विश्वास
अमरेन्द्र ठाकुरका लागि गाईको गोबर केवल एउटा साधन मात्र होइन, यो प्रकृतिको संरक्षण र जीवनको पुनर्निर्माणको प्रतीक हो । उनले गाईको गोबरको उपयोग गाईको संरक्षणसँग जोडेर देखेका छन् । यसले गोबरको उपयोगिता बढाउने मात्र नभई गाईको महत्वलाई पनि समाजमा फैलाउने काम गरेको छ । गाईको गोबरलाई केवल घरेलु काममा मात्र सीमित नगरी, कलात्मक र रचनात्मक दृष्टिकोणबाट प्रयोग गर्नु ठाकुरको नयाँ दृष्टिकोण हो ।
ठाकुरले आफ्नो कलात्मक सामानहरू विभिन्न स्टलहरूमा बेच्ने गर्छन् । जानकी मन्दिरस्थित सुनैना ठाकुरको पसल, मिथिलानी घर, अजय साह, धिरज साहलगायतका विभिन्न स्थानमा यी सामान उपलब्ध छन् । यसले न केवल ठाकुरको परिवारको आर्थिक अवस्था सुधारिएको छ, बरु गाईको गोबरबाट बनाइएका सामानहरू बजारमा फैलाएर एक नयाँ क्रान्ति ल्याएको छ ।
अमरेन्द्र ठाकुरको जीवन र संघर्षले हामीलाई सन्देश दिन्छ कि कुनै पनि साधारण वस्तुमा कला र सिर्जनात्मकता भएमा त्यो नयाँ सम्भावनाका ढोकाहरु खोल्न सक्छ । गाईको गोबरजस्तो साधारण र प्रकृतिसँग सम्बन्धित सामग्रीमा पनि हामी नयाँ जीवन र अर्थ उत्पन्न गर्न सक्छौं । ठाकुरको यात्रा एक प्रेरणा हो । यसले कला र विज्ञानको संगम, पारम्परिक र आधुनिकता मिलाएर हामी भविष्यलाई अझै बलियो र समृद्ध बनाउन सक्छौं भन्ने सन्देश दिन्छ ।
अमरेन्द्र ठाकुरको योगदान केवल आर्थिक मात्र नभइ सांस्कृतिक र पर्यावरणीय दृष्टिकोणबाट पनि महत्वपूर्ण छ । आगामी दिनमा गाईको गोबरका विभिन्न प्रयोगहरूले अझ व्यापक रुप लिने उनको विश्वास छ ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


