जनकपुरधाम, ३ माघ । नव मिथिला फाउण्डेशनले आगामी माघ २४ गतेदेखि सुरू हुने छैटौं जनकपुर साहित्य महोत्सव २०८१ को तयारीलाई तीव्र बनाएको छ ।

महोत्सवको महत्वपूर्ण अंशको रूपमा विद्यालयस्तरीय कविता प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, कथा वाचन प्रतियोगिता र अन्तरविद्यालय चित्रकला प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

फाउण्डेशनले महोत्सवको माध्यमबाट बालबालिकाहरूको सिर्जनशीलता र प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्ने उद्देश्य र यसबाट विद्यार्थीहरूलाई विभिन्न प्रतिस्पर्धाहरू मार्फत आफ्नो कला र विचारको प्रस्तुत गर्ने मौका मिल्ने फाउण्डेशनका अध्यक्ष अमित कुमार साहले बताए ।

विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताको अडिशन राउण्ड माघ ७ गते सोमबार, विद्यालयस्तरीय कविता प्रतियोगिताको अडिशन राउण्ड ८ गते मंगलबार, विद्यालयस्तरीय कथा वाचन प्रतियोगिताको अडिशन राउण्ड ८ गते मंगलबार र अन्तरविद्यालय चित्रकला प्रतियोगिताको अडिशन राउण्ड माघ ९ गते बुधबार गरिने अध्यक्ष साहले जानकारी दिए ।

फाउण्डेशनले गर्न लागेको अन्तरविद्यालय प्रतियोगिताबाट विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरूले महोत्सवको छैठौ संस्करणमा सहभागिता जनाउने छन् । जहाँ प्रथम हुनेले २१ हजार, दोस्रो हुनेले११ हजार र तेस्रो हुनेले ५ हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन् ।

नव मिथिला फाउण्डेनको आयोजनामा विगत पाँच वर्षदेखि जनकपुर साहित्य महोत्सव हुँदै आएको छ । महोत्सव अन्तर्गत हरेकपटक वक्तृत्वकला प्रतियोगिताको आयोजना हुने गर्दछ । यसपटक हुने छैटौं साहित्य महोत्सवमा वक्तृत्वकलासँगै कविता र कथा वाचन प्रतियोगिता पनि गराउने तयारी छ । यी तीनवटै प्रतियोगिताको अन्तिम प्रतियोगिता महोत्सवको मञ्चमा हुनेछ । प्रतियोगिताबाट छनोट भएका पाँचजनाले महोत्सवको मञ्चमा आफ्नो कला प्रस्तुत गर्ने अवसर पाउनेछन् । सोही मञ्चमा हुने अन्तिम प्रतियोगिताको दौरान प्रथम, द्वितीय र तृतिय हुने विद्यार्थीहरू पुरस्कृत हुनेछन् ।

फाउण्डेनका अध्यक्ष साहले भने, ‘जनकपुर साहित्य महोत्सवमा हामीले साहित्यलाई साहित्यसम्म मात्रै सिमित गरेका छैनौँ । यसका बहुआयामिक पाटोलाई पनि मध्यनजर गर्दै यसको परिषकृत स्वरूपलाई हामीले महोत्सवमार्फत प्रस्तुत गर्ने गरेका छौँ । महोत्सवमा विभिन्न सत्रहरू सञ्चालन हुने गर्छ । जसमा वृहत छलफल, चर्चापरिचर्चा, आलोचना समालोचना, विचार विमर्श, गन्थन मन्थन र चिन्तन, बहस, एकल पर्वचनको साथै सांगितिक सत्रहरू पनि समावेश भएको हुन्छ । खास गरि साहित्य, शिक्षा, स्वास्थ्य, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा, संस्कारजस्ता यावत विषय हामीले समेट्ने गरेका छौँ । हामीले परिकल्पना गर्न भ्याएसम्मको विषयलाई हामी महोत्सवमा ठाउँ दिने गरेका छौँ ।’

‘प्रत्येक कार्यक्रमको एउटा उद्देश्य हुन्छ । साहित्य महोत्सवको पनि छ । यो महोत्सवलाई हामीले समाधानको थला बनाउन चाहेका हौं, विचार निर्माणको दैलो बनाउन चाहेका हौं, नीतिनियमको बिन्दु बनाउन चाहेका हौं, सुशासनको थिति बसाउने माध्यम बनाउन चाहेका हौँ । प्रत्येक राम्रो कार्यको शुरूवात बनाउन चाहेका हौं,’ उनले भने ।

अमिले भने, ‘विगत पाँच वर्षदेखि निरन्तर आयोजित भइरहेको यो महोत्सव विगतमा पनि निर्विरोध चलेको थियो, वर्तमानमा पनि चलिरहेको छ र भविष्यमा पनि चलिरहनेछ । महोत्सव आयोजना गर्ने आयोजकहरूको समूहमा पुस्तान्तरण हुनसक्छ तर यो महोत्सवको निरन्तरतामा पूर्णविराम लाग्न दिनेछैनौँ ।’

महोत्सवको उद्घाटन माघ २४ गते जनकपुरधामको प्रसिद्ध राम मन्दिर परिसरमा हुनेछ । यस महोत्सवको तीन दिवसीय कार्यक्रम २६ गतेसम्म चल्नेछ । महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीति जस्ता विभिन्न क्षेत्रका ओपन–एयर प्यानलमा छलफल हुने कार्यक्रम राखिएको छ । अध्यक्ष साहले यस महोत्सवमा नेपालका साहित्यकार, राजनीतिज्ञ, कलाकार, संगीतकार र लेखकहरूको सहभागिता जानकारी दिएका छन् ।

महोत्सवको मुख्य उद्देश्य मिथिलाको समृद्ध संस्कृति र सांस्कृतिक धरोहरलाई उजागर गर्नुका साथै देशभरिका साहित्यप्रेमीहरूलाई एकत्रित गरि यस क्षेत्रको पर्यटन र सांस्कृतिक धरोहरको प्रवद्र्धन गर्नु हो । उपाध्यक्ष आदित्य नेपालले महोत्सवको उद्देश्यलाई ‘धरातल, संस्कृति र संस्कारको उत्सव’को रुपमा प्रस्तुत गर्दै यसलाई नयाँ र परिस्कृत ढंगले सञ्चालन गर्ने योजना बनाइरहेको बताए ।