जानकी मन्दिर प्राङ्गणको टाइल्स र मार्बल ३ वर्ष नबित्दै चक्नाचुर, धार्मिक स्थलको पवित्रता जोखिममा

जनकपुरधाम, २ माघ । जनकपुरधामस्थित ऐतिहासिक र धार्मिक महत्त्वको जानकी मन्दिरको सौन्दर्यीकरणको काममा ठूलो भ्रष्टाचार भएको एक उदाहरणले स्पष्ट हुन्छ । २०७५ सालको अन्त्यतिर ‘मुख्यमन्त्री स्वच्छता अभियान’ अन्तर्गत मन्दिरको प्राङ्गणमा लगाइएको टाइल्स र मार्बल ३ वर्ष नबित्दै चक्नाचुर हुन थालेको दृश्य यसको प्रत्यक्ष उदाहरण हो । मन्दिर सौन्दर्यीकरणका लागि ७ करोड २० लाख रूपैयाँ बजेट व्यवस्था गरिएको थियो ।
स्थानीय युवा अखिल मढि लगायतका व्यक्तिहरूले यस परियोजनामा अनियमितता र गलत कार्यप्रवृत्तिहरूको घेराबन्दी गरेका छन् ।उनले यस कार्यले मन्दिरको ऐतिहासिक र धार्मिक पवित्रता संकटमा पारिएको बताएका छन् ।
उनले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने सपनालाई साकार बनाउन यस दुर्दशालाई तुरुन्त सुधार गर्नु जरुरी रहेको बताए । मढिले मन्दिर परिसरमा ट्रक प्रवेश, भिआइपीहरुका अनैतिक सवारी प्रवेश र धार्मिक स्थानको पवित्रतालाई नमान्ने क्रियाकलापहरू यसको मुख्य कारक बनेको आरोप लगाए ।
उनले भने, ‘जनकपुरधामवासी र सम्बन्धित तिनै निकायका सरकार, प्रशासन प्रमुख, लगायत त्यहाँका महन्तहरूले गम्भीरतापूर्वक सोच्न, ठोस कदम चाल्न र जानकी मन्दिरलाई व्यवस्थित, सफा एवम् पवित्र बनाउन तदारुकता देखाउनुपर्छ । जानकी मन्दिर हाम्रो संस्कार, धार्मिक आस्था र पहिचान हो । यसलाई सुरक्षित र व्यवस्थित राख्न सबैको भूमिका र योगदान अनिवार्य छ ।’
सौन्दर्यीकरणको कामको शुरुवातमा मन्दिर परिसरमा रंगीचंगी मार्बल बिछ्याउने र ग्रेनाइटको प्रयोग गर्ने योजना बनाइयो । पुरातत्व विभाग र गुठी संस्थानले यसलाई मन्दिरको पुरातात्विक महत्वसँग मेल खानेगरी निर्माण गर्न निर्देशन दिएको थियो । विभागले सेतो मार्बलको प्रयोग र मन्दिरको वास्तुकलासँग मेल खाने शैलीमा निर्माण गर्न आग्रह गरेको थियो ।
तर, निर्माण कम्पनीले यसका बाबजुद रंगीचंगी मार्बलको प्रयोग गरेको थियो । महालेखा परीक्षकको कार्यालयले पनि यस्ता अनियमिततालाई ‘गुणस्तरहीन र मापदण्डविपरीत’ ठहर गरिसकेको छ ।
मार्बल बिछ्याउने काममा भएको अनियमितता मात्र होइन, मन्दिर परिसरमा रंगीन बत्ती जडान र विद्युतीकरणको काममा पनि भ्रष्टाचारको गन्ध आएको छ । १२ करोड रुपैयाँको बजेटबाट सुरु गरिएको विद्युतीकरण परियोजनामा सोलार स्ट्रिट लाइट, स्पिकर, स्टेबलाइजर जस्ता सामग्री जडान गरिएका थिए ।
मन्दिरमा २४३ वटा चिम, सेक्युरिटी मेटल डिटेक्टर ४३ वटा, सोलार स्ट्रिट–लाइट १६ वटा, स्ट्रिट–लाइट ४८ वटा, स्पिकर ७४ वटा, ३० केभिएको स्टेबलाइजर र युपिएस लगायत सामग्री जडान गरिएको दाबी गरिएको छ । यसका बारेमा पनि अनियमितता र कमसल काम गरिएको आरोप लगाइएका छन् । स्थानीय युवाहरूले १२ करोडको काम भएको भनिए पनि यथार्तमा २ करोडको काम मात्र भएको दाबी गरेका छन् ।
मढिले जनकपुरधामको गर्व, जानकी मन्दिरको अवस्था जस्ताको तस्तै रहेको र यसका कारण मन्दिरको ऐतिहासिक र धार्मिक महत्त्वलाई गम्भीर जोखिममा परेको बताएका छन् ।
उनले भने, ‘भ्रष्टाचार गरि लगाइएका फुटेका टाइल्स, सफाइको अभाव र गैरजिम्मेवार व्यवहारले मन्दिरको पवित्रतालाई नष्ट गर्दैछ ।’ उनी यसलाई जनकपुरधामको असचेतनताको प्रतीक मान्छन् । मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने सपनालाई साकार बनाउन तुरुन्त सुधार आवश्यक रहेको उनको सुझाव छ ।
’मुख्यमन्त्री स्वच्छता अभियान’ अन्तर्गत २०७५ सालको अन्त्यतिर सुरू भएको जानकी मन्दिर सौन्दर्यीकरणको काम २०७८ को अन्त्यतिर सकिएको थियो । मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले मन्दिर प्रांगणमा मन्दिरको छाँया देखिने गरी मार्बल बिछ्याउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गराएका थिए । टेन्डर प्रक्रियाबाट मुख्यमन्त्री कार्यालय र ’प्रेरा आरजे रञ्जन जेभी’ निर्माण कम्पनीबीच २०७५ मंसिर १७ गते रंगीचंगी मार्बल र ग्रेनाइट बिछ्याउने र भूमिगत ढल तथा गेट निर्माण गर्ने सम्झौता भएको थियो ।
मापदण्डविपरीत मार्बल लगाएको भन्दै स्थानीय युवाहरूले विरोध जनाएका थिए । विरोधपछि केही दिन काम रोकिएपनि फेरि अघि बढाएपछि केही युवाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयमा उजुरी दिएका थिए ।
मार्बल ओछ्याउने काम भइरहेकै बेला अर्थ मन्त्रालयबाट स्वीकृत भई पर्यटन मन्त्रालयमार्फत ’बृहत्तर जनकपुर विकास परिषद’ लाई झन्डै १२ करोड रूपैयाँ बजेट मन्दिरको विद्युतीकरणका लागि उपलब्ध गराइएको थियो । परिषद र भक्तपुरको कम्पनी ’क्षमादेवी कन्स्ट्रक्सन सोलुसन प्रालि’ बीच २०७६ वैशाख २ गते सम्झौता भएको थियो । तर, विद्युतीकरणमा पनि भ्रष्टाचार भएको भन्दै स्थानीय युवाहरुले अख्तियारको बर्दिबास कार्यालयमा उजुरी दिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


