जनकपुरधाम, २ माघ । प्रदेश स्वास्थ्य प्रयोगशाला प्रमुखको सरुवा र त्यससँग सम्बन्धित विवादले मधेश प्रदेशमा तातो राजनीतिक वातावरण सिर्जना गरेको छ ।

विरोधस्वरुप प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको बुधबार जनकपुरधाममा पुत्ला दहन गरिएको हो । युवा संघको नेतृत्वमा भएको विरोध प्रदर्शनमा सहभागी कार्यकर्ताले मुख्यमन्त्री सिंहमाथि आर्थिक चलखेलको आरोप लगाउँदै जनकपुरधामका विभिन्न चोकहरूमा टायर बालेर र मुख्यमन्त्री कार्यालयको अगाडि पुत्ला दहन गरेका छन् ।

 

विरोधको प्रमुख कारण भनेको प्रदेश स्वास्थ्य प्रयोगशाला प्रमुखको सरुवा हो । सम्बन्धित मन्त्रालयसँग कुनै समन्वय नगरी संविधान र ऐन विपरीत गरिएको भन्दै युवा संघले आपत्ति जनाएको छ ।

गत २८ पुषमा कार्यालय प्रमुख कुमार मृत्युञ्जय प्रसादको अनुपस्थितिमा प्रमुखको कार्यकक्ष कब्जा गरिएको आरोप लगाइएको छ । प्रमुख प्रसादको कार्यकक्षमा नयाँ प्रमुख प्रदीप कुमार यादव प्रवेश गर्दा कार्यालयका अन्य कर्मचारीहरूले विरोध गरेको र उनले जबरजस्ती कार्यकक्ष कब्जा गरेको बताएका छन् ।

युवा संघले यस विवादले मुख्यमन्त्री कार्यालयले स्वास्थ्य मन्त्रालयको अधिकार क्षेत्रलाई मिचेको र बिना विभागीय समन्वयको आर्थिक चलखेल गरेको आरोप लगाएको छ । मृत्युञ्जय प्रसादले भने, ‘प्रणव कुमार यादवलाई आर्थिक तथा प्रशासनिक अधिकारसहित सरुवा गरिनु अन्यायपूर्ण थियो । यसबाट स्पष्ट देखा पर्छ कि यो निर्णय ऐन र कानूनी प्रक्रिया विपरीत थियो ।’

कर्मचारी युगल किशोर यादवले भने, “मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवले रमाना हुने बेलामा पैसा खाएर प्रणव कुमारलाई चिठ्ठी दिएका थिए । र, त्यो चिठ्ठी फर्जी थियो ।“ यसरी एकतर्फी निर्णय गरेर जर्बजस्ती प्रमुखको कार्यकक्ष कब्जा गरिएको भन्दै निर्णयको विरोध गर्दै जनकपुरधामका विभिन्न स्थानहरूमा प्रदर्शन गरिएको छ ।

प्रमुख सचिवस्तरीय निर्णयबाट २८ पुषमा स्वास्थ्य प्रयोगशाला प्रमुखको सरुवा गरिएको हो । निर्णय अनुसार प्रणव कुमार यादवलाई कार्यालयको निमित्त निर्देशकको रूपमा खटाइएको थियो । यस निर्णयले विभिन्न विवाद जन्माएको छ ।

युवा संघका नेताहरूले मुख्यमन्त्री सिंहको पुत्ला दहन गर्दै प्रदर्शनको माध्यमबाट सरकारसँग जवाफ मागेका छन् । उनीहरूले मुख्यमन्त्रीको कदमलाई असंवैधानिक र असंगत भनेर आरोप लगाएका छन् ।