जनकपुरधाम, २ माघ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-४ मा देखिएको एक दृश्यले प्रहरी संगठनको मर्यादा र भरोसामाथि गम्भीर प्रश्न खडा गरेको छ।

बुधबार दिउँसो करिब साढे १२ बजे संघीय प्रहरी कार्यालयको छेउमै रहेको मदिरा पसलमा एक प्रहरी हवल्दारले बर्दीमै लोकल मदिरा सेवन गरेको दृश्यले प्रहरी संगठनको अनुशासनमा खोट देखाएको हो ।

मोटरसाइकलमा सवार ती हवल्दार मदिरा पसलमा गएर खुलेआम मदिरा पिउँदै पुनः मोटरसाइकलमा चढेर गएका थिए । यो घटना प्रत्यक्षदर्शी पत्रकारहरू घनश्याम मिश्र, सुभाष कर्ण, र संजय साहले पुष्टि गरेका छन् ।

पसलेसँगको सोधपुछमा ती हवल्दारले आफूसँग मदिरा मागेर खाएको स्वीकार गरेका छन् । प्रहरी जस्तो अनुशासन र मर्यादाको प्रतीक मानिने निकायका व्यक्तिले यसरी सार्वजनिक स्थलमा बर्दीमै मदिरा सेवन गर्नु कुनै पनि हालतमा क्षम्य हुन सक्दैन।

प्रहरीको कर्तव्य भनेको सर्वसाधारणको सुरक्षा र कानूनको पालन गराउनु हो । तर, जब बर्दीधारी प्रहरी नै मदिराको नशामा मस्त भएर नियमको खिल्ली उडाउँछन् तब सर्वसाधारणको सुरक्षाको ग्यारेन्टी कसरी हुने? यो दृश्यले केवल व्यक्तिगत लापरवाहीको होइन, प्रहरी संगठनकै अनुशासनमा देखिएको कमजोरी हो।

प्रहरी प्रशासनले हवल्दारको यस प्रकारको गैरजिम्मेवार आचरणलाई बेवास्ता गर्ने हो भने संगठनप्रति जनताको विश्वास गुम्न सक्छ। यस्तो घटना सामान्य मान्ने हो भने अन्य प्रहरी अधिकारीहरूलाई पनि गलत सन्देश जान सक्छ।

यो गम्भीर विषयलाई तुरुन्त छानबिन गरी दोषीलाई अनुशासनात्मक कारबाही गर्नु अत्यावश्यक रहेको पत्रकार घनश्याम मिश्रले बताए ।

उनले भने, “प्रहरी संगठनभित्र यस्ता गतिविधि दोहोरिन नदिन कडा नियम लागू गर्नुपर्छ। अन्यथा, जनतामा “प्रहरीका लागि कानून बेग्लै” भन्ने धारणा बलियो हुनेछ।”

प्रहरीको बर्दीले सुरक्षा, अनुशासन र निष्ठाको प्रतीक बन्नुपर्छ। तर, यस्तो घटना पुनः नदोहोरियोस् भन्नका लागि प्रहरी संगठनले आफ्नो आन्तरिक अनुशासनलाई सुधार गर्न अबिलम्ब कदम चाल्नुपर्छ। कानून सबैका लागि समान हो र प्रहरीलाई यसको अपवाद बनाउने अधिकार छैन ।

यो घटना केवल एक प्रहरी हवल्दारको गल्ती होइन यो प्रहरी संगठनकै विश्वसनीयतामाथिको चुनौती हो । समयमै कदम नचालिए यसले सम्पूर्ण प्रहरी प्रशासनलाई बदनाम गराउनेछ।