जनकपुरधाम, १ माघ । माघे संक्रान्तिको अवसरमा प्रत्येक वर्ष झैं यसवर्ष पनि जनकपुरधाममा खिचडी भोजको आयोजना गरिएको छ ।जनकपुरधामको जानकी चोकस्थित अंगराज सर (अरगज्जा) पोखरीको डिलमा खिचडी भोजको आयोजना गरिएको हो ।

जानकी चोकका स्थानीय युवाहरुले खिचडी भोजको आयोजना गरेका छन् । भाईचारा र संस्कृतिलाई जर्गेना गर्नका लागि विगत डेढ दशकदेखि यस भोजको आयोजना गर्दै आएको स्थानीय युवा वीरेन्द्र कर्णले बताए ।

उनेल हरेक धर्म, वर्ग र जातका व्यक्तिलाई एकै ठाउँमा राखेर प्रत्येक वर्ष खिचडी खुवाउने गरेको बताए ।

भोजमा खिचडी, पापड, अचार, दही, चिनी, घ्यूसहितको परिकारको व्यवस्था गरिएको थियो । भोजमा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यापारी, स्थानीय, सञ्चारकर्मी तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।