श्रीराम मन्दिरको वार्षिकोत्सवमा जानकी मन्दिरमा सवा लाख दीप प्रज्जवलन

जनकपुरधाम, २७ पुष । धार्मिक आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिरमा आज श्रीराम मन्दिरको वार्षिकोत्सवको अवसरमा भव्य दीप प्रज्जवलन कार्यक्रम सम्पन्न भएको छ ।
यस अवसरमा एक लाख पचिस हजार दीप प्रज्जवलन गरेर जनकपुरधामलाई धार्मिक र सांस्कृतिक रुपमा प्रगति र समृद्धिको प्रतीक बनाइएको थियो ।
जानकी सेनाले आयोजना गरेको यस ऐतिहासिक कार्यक्रमलाई हेर्नका लागि हजारौं भक्तजन, धर्मप्रेमी र पर्यटकहरू जानकी मन्दिर परिसरमा उपस्थित भएका थिए । दीप प्रज्जवलनसँगै मन्दिर परिसरमा भव्य उत्सवको वातावरण सिर्जना भएको थियो । भक्तजनहरू श्रीरामको महिमा गाएर पूजा अर्चना गरी पवित्रता र समृद्धिको कामना गरे ।
कार्यक्रमका क्रममा आयोजक संस्थाले श्रीराम मन्दिरको वार्षिकोत्सवको महत्त्व र यसको ऐतिहासिक पृष्ठभूमिको बारेमा जानकारी दिएको थियो । उनीहरूले धार्मिक एकता र सामाजिक सद्भावलाई प्रगति दिने उद्देश्यले यस्तो आयोजनाको महत्वलाई उल्लेख गरे ।
श्रीराम मन्दिर निर्माणको संघर्ष र बलिदानको इतिहासलाई जनसमक्ष ल्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
यस उत्सवको महत्वको बारेमा चर्चा गर्दै युवा आशुतोष झाले भने, “श्रीराम मन्दिरको निर्माणको इतिहास, यसका साथमा भएको संघर्ष र बलिदानको कथालाई जनसमक्ष ल्याउनु हाम्रो मुख्य उद्देश्य थियो । यो उत्सव श्रीराम मन्दिरको महिमा र यसको निर्माणको महत्त्वलाई उजागर गर्ने अवसर बनको छ ।“
दीप प्रज्जवलनले जनकपुरधामको आस्थासँग जोडिएको समृद्धि र शान्तिको वातावरणलाई अझ बलियो बनाएको छ ।
यस ऐतिहासिक अवसरले जनकपुरधामलाई अन्तर्राष्ट्रिय स्तरमा धार्मिक पर्यटनको केन्द्र बनाउने ठूलो सम्भावना उजागर गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


