जनकपुरधाम, २६ पुष । नव मिथिला फाउण्डेशनले आगामी माघ २४ गतेदेखि सुरू हुने छैटौं जनकपुर साहित्य महोत्सव २०८१ को तयारीलाई तीव्र बनाएको छ ।

महोत्सवको महत्वपूर्ण अंशको रूपमा आज एकदिने कथावाचन कार्यशाला सम्पन्न भएको हो । प्रसिद्ध बाल साहित्य विज्ञ राजीव धर जोशीको नेतृत्वमा आयोजित गोष्ठीमा शिक्षकलाई रचनात्मक कथावाचन प्रविधिहरू सिकाइएको छ । यस सिकाइले विद्यार्थीहरूलाई प्रेरित गर्न र कक्षामा सिकाइ सुधार्न मद्दत पुर्याउँछ ।

प्रतिस्पर्धाको माध्यमबाट बालबालिकाहरूको सिर्जनशीलता र प्रतिभा उजागर गर्न यो अवसर प्रदान गरिएको नव मिथिला फाउण्डेशनका अध्यक्ष अमित कुमार साहले बताए ।

नव मिथिला फाउण्डेशनले महोत्सवको माध्यमबाट बालबालिकाहरूको सिर्जनशीलता र प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको छ । यसबाट विद्यार्थीहरूलाई विभिन्न प्रतिस्पर्धाहरू मार्फत आफ्नो कला र विचारको प्रस्तुत गर्ने मौका मिल्नेछ ।

आज आयोजित कार्यशालामा जनकपुरधामका सामुदायिक तथा निजी विद्यालयका शिक्षकहरू सहभागी थिए। उनीहरूले प्रशिक्षण लिएपश्चात् आफ्ना विद्यार्थीहरूलाई कथावाचनका विषयमा प्रशिक्षित गर्नेछन् ।

विद्यार्थीहरूले माघ ६ देखि ८ गतेसम्म जनकपुरधाममा हुने कथावाचन प्रतियोगितामा सहभागिता जनाउने छन् । फाउण्डेशनले गर्न लागेको इन्टर स्कूल प्रतियोगितामा कथावाचनका साथै कवितावाचन, चित्रकला र वक्तृत्वकला विधा पनि समावेश गरिएको अध्यक्ष साहले जानकारी दिए ।

इन्टर स्कूल प्रतियोगिताबाट विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरूले माघ २४ देखि २६ गतेसम्म चल्ने जनकपुर साहित्य महोत्सवको छैठौ संस्करणमा सहभागिता जनाउने छन् ।

महोत्सवको उद्घाटन माघ २४ गते जनकपुरधामको प्रसिद्ध राम मन्दिर परिसरमा हुनेछ । यस महोत्सवको तीन दिवसीय कार्यक्रम २६ गतेसम्म चल्नेछ । महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीति जस्ता विभिन्न क्षेत्रका ओपन–एयर प्यानलमा छलफल हुने कार्यक्रम राखिएको छ । महोत्सवका आयोजक नवमिथिला फाउण्डेशनका अध्यक्ष अमित कुमार साहले यस महोत्सवमा नेपालका साहित्यकार, राजनीतिज्ञ, कलाकार, संगीतकार र लेखकहरूको सहभागिता जानकारी दिएका छन् ।

महोत्सवको मुख्य उद्देश्य मिथिलाको समृद्ध संस्कृति र सांस्कृतिक धरोहरलाई उजागर गर्नुका साथै देशभरिका साहित्यप्रेमीहरूलाई एकत्रित गरि यस क्षेत्रको पर्यटन र सांस्कृतिक धरोहरको प्रवद्र्धन गर्नु हो । उपाध्यक्ष आदित्य नेपालले महोत्सवको उद्देश्यलाई ‘धरातल, संस्कृति र संस्कारको उत्सव’को रुपमा प्रस्तुत गर्दै यसलाई नयाँ र परिस्कृत ढंगले सञ्चालन गर्ने योजना बनाइरहेको बताए ।

फाउण्डेशनले महोत्सवका लागि विविध सुझाव र विचारहरू संकलन गरिरहेको छ । यसले यस महोत्सवलाई अझ प्रभावकारी र उत्साहजनक बनाउन मद्दत पुर्याउने विश्वास गरिएको छ । फाउण्डेशनका अध्यक्ष साहले महोत्सवलाई सफल बनाउन सबैको सामूहिक प्रयासको आवश्यकता औंल्याएका छन् ।

महोत्सवमा सहभागी हुने विशिष्ट व्यक्तिहरूका बारेमा जानकारी दिँदै उनले यस महोत्सवले समग्र मिथिला क्षेत्रको सांस्कृतिक र साहित्यिक धरोहरलाई अझ मजबुत बनाउने र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरिएको बताए ।

जनकपुर साहित्य महोत्सव २०८१ ले साहित्य र संस्कृति प्रेमीहरूलाई एकजुट गर्नका साथै मिथिलाको पहिचान र परम्परालाई जिवित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास राखिएको छ ।