श्रीराम मन्दिरको वार्षिकोत्सवको अवसरमा जनकपुरधाममा दीप प्रज्जवलन गरिने

जनकपुरधाम, २५ पुष । विश्व हिन्दू परिषद् नेपालले आगामी पुष २७ गते शनिबार अयोध्यास्थित श्रीराम मन्दिरको वार्षिकोत्सवको उपलक्ष्यमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त उत्सवको मुख्य आकर्षण रंगोली प्रतियोगिता र दीप प्रज्जवलन कार्यक्रम हुनेछ ।
विश्व हिन्दू परिषद धनुषाका युवा प्रमुख मोहन हिन्दुले बताएअनुसार श्रीराम मन्दिर निर्माणको इतिहास र यसको सम्पूर्ण बलिदान र संघर्षको महत्वलाई जनसमक्ष ल्याउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो । उत्सवको प्रमुख आकर्षणका रूपमा राम मन्दिरको इतिहासको डकुमेन्ट्री आधुनिक प्रोजेक्टरमार्फत प्रदर्शन गरिनेछ ।
जानकी मन्दिरमा शनिबार दिउँसो ३ः०० बजे आयोजना हुने भव्य उत्सवमा सहभागी हुनका लागि कार्यक्रमका संयोजक तथा नगर उपाध्यक्ष गौरी शंकरले जनकपुरधामवासीलाई अनुरोध गरेका छन् ।
श्रीराम मन्दिर निर्माणको संघर्ष र बलिदानको इतिहासलाई स्मरण गर्दै यस उत्सवलाई अझ भव्य र समृद्ध बनाउन सम्पूर्ण जनकपुरधामवासीलाई उपस्थित हुन आह्वान गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


