पर्सा, २४ पुष । पर्सा प्रहरीले ८० वर्षीय हजुरबुवा रामजान देवानको हत्या गरेको आरोपमा उनका नाति र नातिनीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पोखरिया नगरपालिका–८ जगतपुरका २० वर्षीया खुश्बु खातुन र १८ वर्षीय काबुल देवान रहेका छन् ।

प्रहरीका अनुसार सोमबार राति घरायसी विवादको क्रममा नाति–नातिनीले हजुरबुवालाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका रामजानलाई वीरगञ्ज हेल्थ केयर अस्पताल हुँदै न्युरो अस्पताल वीरगञ्जमा उपचारका लागि पुर्याइएको थियो । मंगलबार बिहान उनको मृत्यु भएको बताइएको छ ।

पक्राउ परेका नाति–नातिनीले वाइफाईको विषयमा विवाद गरेको बताइएको छ । पछि सो विषय हिंसात्मक घटनामा परिणत भयो ।

मृतकका परिवारका सदस्यहरूका अनुसार कुटपिटपछि गम्भीर घाइते भएका रामजानको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले घटनाको अनुसन्धान जारी राख्दै आरोपितहरूलाई पक्राउ गरेको जनाएको छ ।