जनकपुरधाम, २३ पुष । अब जनकपुरधाम उपमहानगरपालिकाभित्र दर्ता भएका ई–रिक्साहरु मात्र चल्ने भएका छन् ।

सरोकारवालाहरुको सर्वपक्षीय छलफलबाट बिनादर्ता र अव्यवस्थित रुपमा नगर क्षेत्रमा सञ्चालन हुँदै आएका ई–रिक्सालाई व्यवस्थित गर्न उपमहानगरपालिकाले यस्तो कदम चालेको हो । अब दर्ता भएका ई–रिक्सालाई मात्र नगरभित्र सञ्चालन गर्न दिइने भएको छ ।

बिनादर्ता चलाउने र अटेर गर्नेलाई कारवाही प्रक्रियामा अगाडी बढाइने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले जानकारी दिए ।

नगर प्रमुख साहले नगरमा व्यवस्थित पार्किङ गरी ट्राफिक व्यवस्थापन गर्ने, नगरलाई सौन्दर्यीकरण गर्ने, सही भाडादर लागू गर्ने उदेश्यका साथ ई–रिक्साको नियमन सुरु गरिएको बताए । ‘जनकपुरधामलाई व्यवस्थित र सुन्दर बनाउने उद्देश्यका साथ हामी अगाडी बढेका छौं । यसमा सबैको सहयोगको पनि आवश्यक छ,’ उनले भने ।

नगर प्रमुख साहले ई–रिक्सा व्यवस्थापनका लागि आफूहरु निर्वाचित भएर आएदेखि नै लागिपरेको र अहिले यो अभियान सफलताउन्मुख भएको बताए । उनले उपमहानगरपालिकाले तोकेको मापदण्ड पुरा गरेर मात्र आफ्ना ई–रिक्सा चलाउन सम्बन्धित सवारीधनीहरुलाई आग्रह समेत गरे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीले ई–रिक्सासँग सम्बन्धित मापदण्ड पूर्ण रुपमा कार्यान्यनमा लगिने भएकाले मापदण्ड पूरा गरेर मात्र तीनपांग्रे सवारीसाधन चलाउन आग्रह गरे । उनले दर्ता नभएको ई–रिक्सा चलाएमा २ सय रुपैयाँ जरिवाना लाग्ने जानकारी दिए । उपमहानगरपालिकामा दर्ता हुनका लागि सम्बन्धित व्यवसायीसँग ब्लू–बुक, सवारीचालक अनुमतिपत्रलाई अनिवार्य गरिएको छ ।

मापदण्डअनुसार मुख्य सडकबाहेक किनाराका सर्भिस लेन र नगरका भित्री सडकमा सञ्चालन गर्नुपर्ने, रुट इजाजत लिनुपर्ने, यात्रुसँग निर्धारित भाडा मात्र लिनुपर्ने, तोकिएको स्थलमा मात्र पार्किङ गरिनुपर्ने, उपमहानगरपालिकामा दर्ता भएको संकेत सवारीसाधनको अग्रभागमा राख्नुपर्ने लगायतका मापदण्ड रहेको नेपाल ई–रिक्सा मजदुर संगठन धनुषाका अध्यक्ष बिरेन्द्र कुमार महतोले बताए ।