जनकपुरधाम, २२ पुष । सुनचाँदी व्यवसायी संघको आह्वानमा सोमबार जनकपुरधामका सम्पूर्ण सुनचाँदी पसलहरु बन्द भएका छन् ।

प्रहरीले सुनचाँदी पसलमा कार्यरत दुईजना कर्मचारीलाई पक्राउ गरेको विरोधमा व्यवसायीहरु आन्दोलित भएका हुन् ।

सबै प्रक्रिया पूरा गरेर आफूहरुले सामान बेचेपनि प्रहरीले दुःख दिएको भन्दै व्यवसायीले पसल बन्द गरेर आन्दोलनमा उत्रनुपरेको सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष राजिव कुमार चन्दनले बताए ।

एक महिना अघि कुनै ग्राहकले पवन ठाकुरले सञ्चालन गरेको महालक्ष्मी ज्वेलर्स र अमरनाथ गुप्ताको जेबर ज्वेलर्समा बिलसहित करिव ९ लाख मुल्य बराबरको साढे ६ तोला सुन बेचेको चन्दनले जानकारी दिए ।

पछि अपराध अनुसन्धान महाशाखामा सो सामान चोरीको रहेको भन्दै उजुरी परेको र सोही क्रममा सोधपुछका लागि महालक्ष्मी ज्वेलर्समा कार्यरत गुरु दयाल ठाकुर र जेबर ज्वेलर्समा कार्यरत सुभाष साहलाई महाशाखाको टोलीले सोमबार पक्राउ गरेर अनुसन्धानका लागि काठमाडौं लगेको उनले बताए ।

सुनचाँदी व्यवसायीहरुले पक्राउ परेका दुबै जनालाई तुरुन्त रिहाइ गर्न माग गरेका छन् । उपाध्यक्ष चन्दनले भने, ‘बिलसहितको सुन व्यवसायीले बेचेका छन् तर पनि प्रहरीले हस्तक्षेप गर्छ, यसको हामी भत्र्सना गछौं, पक्राउ परेकालाई विनासर्त रिहा गर्नुपर्छ ।’