जनकपुरधाम, १८ पुष । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ स्थित राष्ट्रिय प्राथमिक विद्यालय दशरथनगरको १२ कठ्ठा जग्गामा जनकपुरधाम उपमहानगरपालिकाले पार्किङस्थल निर्माण गर्ने भन्दै २०७९ साल माघ २७ गते शिलान्यास गर्यो । नगरभित्र लाखौंको संख्यामा चल्ने सवारी साधनका व्यवस्थित पार्किङस्थल नहुँदा बेलाबेला जामको समस्या आइरहन्छ । मुख्य सडकमा जाम हुने हुँदा सवारी चालक बाठो बन्छन् र सजिलो सहायक बाटो रोज्छन् । यी सबै अवस्थालाई दृष्टिगत गर्दै उपमहानगरले त्यहाँ पार्किङस्थल निर्माण गर्ने भन्दै नगरप्रमुख मनोजकुमार साह र उपप्रमुख किशोरी साहले शिलान्यास गरे । त्यसपछि स्थानीय बलदेव साह तेलीले त्यहाँ पार्किङस्थल निर्माण नगर्न जनकपुरधाम उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयलाई विपक्षी बनाएर उच्च अदालत जनकपुरमा रिट निवेदन दायर गरे । उच्च अदालत जनकपुरले २६ बैशाख २०८० मा राष्ट्रिय प्राथमिक विद्यालय दशरथनगरको जग्गामा पार्किङस्थल निर्माण नगर्न जनकपुरधाम उपमहानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेपछि निर्माणको काम रुक्यो । तर, फेरि मुद्दाको क्रम जारी नै रहँदा उपमहानगरले जित हासिल गर्यो र ५० लाख रुपैयाँ खर्चेर त्यहाँ माटो भर्ने काम गरियो ।

तर, शिलान्यास भएको दुई वर्षसम्मको अवधिमा पनि अहिलेसम्म त्यहाँ पार्किङस्थल बन्न सकेको छैन । निर्माणको काम एकातर्फ कछुवाको गतिमा काम भइरहेको छ भने अर्कोतर्फ अव्यवस्थित पार्किङका कारण नगर अस्तव्यस्त बनेको देखिन्छ । अव्यवस्थित रूपमा सवारीसाधन पार्किङका कारण नगर क्षेत्र अस्तव्यस्त बनिरहेको अवस्थालाई दृष्टिगत गर्दै पार्किङस्थल निर्माण गर्न सुरु गरिएको थियो । पार्किङस्थल निर्माण भएपछि ट्राफिक व्यवस्थापनको समस्या समाधान हुने विश्वाससमेत लिइएको थियो ।

नगर क्षेत्रका मुख्य सडकदेखि मुख्य बजार क्षेत्रका सडकहरूमा अव्यवस्थित सवारीसाधन पार्किङ गर्ने प्रचलनका कारण नगर क्षेत्र नै कुरूप देखिन थालेको छ । उपमहानगरपालिकाले सडकपेटिमा पसल थापेर व्यापार गर्दै आएका साना व्यापारीहरूको पसल हटाए पनि सडकपेटि र सडक छेउ अहिले सवारीसाधनको पार्किङस्थल बनेको देखिन्छ ।

ट्राफिक व्यवस्थापनका लागि उपमहानगरपालिका, नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त काम गर्दै आएपनि पार्किङ निषेधित क्षेत्रमा समेत सवारी साधनहरू निर्बाध रूपमा पार्किङ गरेको पाइन्छ । विशेष गरी अस्पताल क्षेत्र र मुख्य बजार क्षेत्रमा अव्यवस्थित सवारीसाधन पार्किङ गरिँदै आएको देखिन्छ ।

सवारीको चापले गर्दा नगरका सहायक बाटोसमेत अस्तव्यस्त हुने र सडकमै पार्किङ हुने गरेको छ । पछिल्लो समय जनकपुरधामका मुख्य सडकमा मात्रै नभई शाखा गल्ली तथा बाटोमा पनि जामको समस्या देखिन थालेको सवारीचालकको गुनासो छ । साँघुरो सडक, त्यसमाथि दायाँबायाँ दुवैतिर पार्किङ गर्नाले अन्य सवारी चालकलाई समस्यामा पार्ने गरेको छ ।

बजार क्षेत्रमा सडकमा पार्किङ गर्न नपाइने गरी बोर्ड ठड्याएको छ । तर, त्यही बोर्डमुन्तिर अव्यवस्थितरुपमा गाडी पार्किङ गरिराखेका दिनहुँका दृश्य हुन्छन् । भीड र जामको समस्या उपमहानगरपालिकाका भित्री शाखा बाटामा पार्किङ सुविधा नभएका कारण बढेको सवारी चालकहरु बताउँछन् । उपमहानगरले सहरी क्षेत्रमा बढिरहेको सवारी साधनको चाप र त्यसले निम्त्याइरहेको जाम रोक्न उचित योजना ल्याउन सकेको छैन ।

जनकपुरधाममा दैनिक लाखौं सवारीसाधन गुड्छन् । जसमा अधिकतम् सवारी साधन बाटो छोटयाउँदै शाखाबाटा रोज्ने गर्छन् । बजारका मुख्य बाटा बाहेक अन्य शाखा तथा गल्लीबाटोमा पार्किङ गर्दा सवारीधनीले पार्किङ गरेवापतको शुल्क पनि तिर्नुपर्दैन । तर, उपमहानगरले लामो समयदेखि पार्किङ सम्बन्धी उचित नीति ल्याउन नसक्दा मुख्य सडकमा हुने पार्किङवापतको शुल्कसमेत गुमाउँदै आएको छ ।

महानगर भन्छ– व्यवस्थित गर्ने काम अघि बढिसकेको छ

जनकपुरधाम उपमहानगरले व्यवस्थित पार्किङ गर्ने काम भइरहेको जनाएको छ । नगरप्रमुख साहले सडक चौडा बनाउनेदेखि फुटफाथ बनाउनेसम्मको काम भइसकेको बताए । साहले चालु आर्थिक वर्षमा पार्किङस्थलको निर्माण सम्पन्न गर्ने उपमहानगरको योजना रहेको बताए ।

‘नगरका विभिन्न चोकका सडक चौडा बनाइसकेका छौं,’ साहले भने, ‘सडकको मापदण्ड मिचेर बनेका संरचना पनि हामीले भत्काउँदै लगिरहेका छौं ।’ उनले मापदण्ड मिचेर बनेका सबै संरचना भत्काइसकेको र अहिलेपनि काम भइरहेको जानकारी दिए ।

नगरभित्रको पार्किङ व्यवस्थित गर्न उपमहानगरले चालु आर्थिक वर्षमा पार्किङस्थलको निर्माण सम्पन्न गर्ने योजना रहेको जनाएको छ ।