सिद्धार्थ बैंकले ऋणीसँग अन्याय गरेको भन्दै जनकपुरधाममा चक्काजाम

जनकपुरधाम, १२ पुष । जनकपुरधामस्थित एक बैंकले ऋणीसँग अन्याय गरेको भन्दै जनकपुरधाममा चक्काजाम गरि प्रदर्शन गरिएको छ ।
जनकपुरधामको मिल्स एरियास्थित सिद्धार्थ बैंक लिमिटेडका शाखा प्रमुख अर्नबहादुर बलम्पाकीले ऋणीले ऋण चुक्ता गर्न तयार रहेपनि बैंकले जग्गा लिलाम गरेको भन्दै चक्काजाम गरेर प्रदर्शन गरिएको हो ।
जनकपुरधामको भ्रमरपुरा चोकमा लक्ष्मी ट्रेडर्स नामक ग्यास पसल सञ्चालन गर्दै आइरहेका जनकपुरधाम–८ बस्ने दिनेश राय कुर्मीले आफ्नो २ करोडको जग्गा बैंकले अरुको नाममा पास गरेपछि व्यापारी तथा स्थानीयहरु प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरुले बैंकले व्यापारीलाई अनावश्यक दुःख दिएको भन्दै शुक्रबार जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा मिल्स एरियास्थित बैंकको कार्यालय अगाडि करिव दुई घण्टा चक्काजाम गर्दै प्रहरी प्रशासन र बैंकको बिरुद्धमा नारावाजीसहित प्रदर्शन गरेका छन् ।
के हो विवाद ?
जनकपुरधामको भ्रमरपुरा चोकमा लक्ष्मी ट्रेडर्स नामक ग्यास पसल सञ्चालन गर्दै आइरहेका जनकपुरधाम–८ बस्ने दिनेश राय कुर्मीले सिद्धार्थ बैंकको मिल्स एरिया शाखाबाट ३५ लाख रुपैयाँको विजनेश लोन र भाउजुको नाममा महेन्द्रनगरस्थित सिद्धार्थ बैंकको शाखाबाट ४५ लाखको व्यक्तिगत लोन लिएका थिए । दूबै लोनको ब्याज आफूले समय समयमा बुझाउँदै आएको रायको दावी छ । उनले आफूले पूरै ऋण चुक्ता गर्न तयार रहेपनि दुबै शाखाका प्रबन्धक मिलेर आफूलाई फसाउन खोजेको आरोप लगाए । रायले आफू ऋण बुझाउनकै लागि गत १२ दिनदेखि बैंक धाउँदै आइरहेको बताए ।
‘बैंकका प्रबन्धकलाई ऋण क्लियर गर्छु हिसाब देखाई दिनुस भन्दा सादा कागजमा मात्रै हिसाब देखाए, रायले भने, ‘सादा कागजको हिसाब मान्दिन भन्दा आजको आजै ऋण चुक्ता गर्नुस नभए जग्गा लिलाम गर्छु भन्दै धम्काउन थाले ।’
आफूले एक साताको समय दिनुस पूरै ऋण चुक्ता गर्छु भन्दा भन्दै पनि महेन्द्रनगर शाखाका प्रबन्धक शिव यादव र मिल्स एरिया शाखाका प्रबन्धक अर्नबहादुर बलम्पाकी मिलेर महोत्तरीको सरपल्लो निवासी मिथलेश देवीको नाममा जग्गा पास गरिदिएको रायको गुनासो छ ।
उनले आफ्नो महेन्द्रनगरको जग्गाको मूल्य २ करोडभन्दा बढि रहेपनि सो जग्गा बैंकले ४० लाखमै लिलाम गरेको बताए । रायले बैंकले ९० लाखमा जग्गा लिलामी निकालेकोमा खरिद गर्ने व्यक्तिले १ करोडमा लिलामी भरेको र उनलाई सो जग्गा १ करोड ३२ लाखमा बिक्री गरिएको जानकारी दिए । बैंकले मालपोतका कर्मचारीहरुसँगको संलग्नतामा बाटो सिफारिस बिना नै गत शुक्रबार आफ्नो जग्गा पास गरिदिएको उनको दुःखेसो छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले रायले सिद्धार्थ बैंक लिमिटेडबाट व्यक्तिगत र व्यवसायीक गरि दुईटा ऋण लिएको बताए । व्यवसायीक ऋणको सबै ब्याजहरु भुक्तान भइसकेको र व्यक्तिगततर्फ विगत करिव ७ महिनाको ब्याज तिर्न बाँकी रहेको अवस्थामा बैंकले आवश्यक प्रक्रिया नै नपुर्याएर ऋणीलाई कुनै जानकारी नै नदिई वडाको सिफारिश बिना ८६ लाखको ऋणका लागि करिव २ करोड मूल्य बराबरको जग्गाको लिलामी प्रक्रिया अगाडि बढाउँदै जग्गा पास गराएको उनले जानकारी दिए ।
उनले यस शाखाका प्रमुखको केही गलत तत्वहरुसँग संलग्नता रहेको र सोही आधारमा ग्राहक ठगी गरिरहेको घटना यसअघि पनि बाहिरिएको आरोपसमेत लगाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


