माघ २४ गतेदेखि तीन दिवसीय ‘जनकपुर साहित्य महोत्सव’ को छैटौं संस्करण हुने

जनकपुरधाम, ११ पुष । जनकपुरधाममा आगामी माघ २४ गतेदेखि तीन दिवसीय छैटौं ‘जनकपुर साहित्य महोत्सव–२०८१’ हुन लागेको छ । नवमिथिला फाउण्डेसनको आयोजन र फ्याक्ट्स नेपालको प्रमुख प्रायोजनमा हुन लागेको महोत्सवको छैटौं संस्करण २६ गतेसम्म चल्ने भएको हो ।
०७६ सालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवमा यस वर्ष साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न ओपन–एयर प्यानलमाथि छलफल हुने आयोजक नवमिथिला फाउण्डेशनका अध्यक्ष अमित कुमार साहले जानकारी दिए ।
जनकपुर साहित्य महोत्सवमा विधार्थी, राजनीतिज्ञ, कलाकार, संगीतकार, लेखक लगायतको सहभागिता रहने उनले बताए । महोत्सवमा नेपालभरिका साहित्यप्रेमीहरूको सहभागिता रहनेसमेत उनले जानकारी दिए ।
साहित्य महोत्सवको उद्घाटन सत्र माघ २४ गते राम मन्दिर परिसरमा हुनेछ । साहित्यिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको महोत्सवमा देशभरिका ख्याति प्राप्त स्रष्टाहरूको सहभागिता रहने नवमिथिला फाउण्डेसनका उपाध्यक्ष आदित्य नेपालले जानकारी दिए ।
“धरातल, संस्कृति र संस्कारको उत्सव” भन्दै आयोजना हुने महोत्सवलाई नयाँ र परिस्कृत ढंगले संचालन गर्ने उद्देश्यका साथ फाउण्डेशनले सुझाव र विचारसमेत संकलन गरिरहेको छ ।
महोत्सवको मुख्य उद्देश्य मिथिलाको संस्कृतिलाई उजागर एवम् पर्यटन प्रवर्द्धन गर्नु नै रहेको स्मरण गराउँदै महोत्सवलाई सफल पार्न सामूहिक प्रयासको आवश्यकता औंल्याइएको छ ।
पर्यटन र संस्कृतिको पक्षलाई महोत्सवले केन्द्रमा राखेको फाउण्डेशनका अध्यक्ष साहले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


