जनकपुरधाम, ९ पुष । जनकपुरधाममा आयोजना हुन गइरहेको “जनकपुर साहित्य महोत्सव २०८१”को ६औँ संस्करणका लागि सुझाव आह्वान गरिएको छ ।

महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न आयोजक नवमिथिला फाउण्डेशनले सुझाव संकलन अभियान सुरु गरेको हो ।

“धरातल, संस्कृति र संस्कारको उत्सव” भन्दै आगामी माघ २४ देखि २६ गतेसम्म राम मन्दिरको प्राङ्गणमा आयोजना हुने महोत्सवलाई नयाँ र परिस्कृत ढंगले संचालन गर्ने उद्देश्यका साथ फाउण्डेशनले मंगलबार सुझाव र विचार पठाउन आह्वान गरेको छ ।

महोत्सवको मुख्य उद्देश्य मिथिलाको संस्कृतिलाई उजागर एवम् पर्यटन प्रवर्द्धन गर्नु नै रहेको स्मरण गराउँदै महोत्सवलाई सफल पार्न सामूहिक प्रयासको आवश्यकता औंल्याइएको छ ।

पर्यटन र संस्कृतिको पक्षलाई महोत्सवले केन्द्रमा राखेको नवमिथिला फाउण्डेशनका अध्यक्ष अमित कुमार साहले बताए । महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षबाट सुझावको समेत अपेक्षा गरिएको उनले सुनाए ।

महोत्सव सञ्चालनको बारेमा [email protected] र  [email protected] मा आवश्यक सुझाव पठाउन सकिने जानकारी गराइएको छ ।

महोत्सवका अवसरमा गीतसंगीतका कार्यक्रमलाई थप नयाँ र चर्चित कलाकारका साथ प्रस्तुत कसरी गर्ने, महोत्सवको प्रचार–प्रसारमा ध्यान कसरी दिने, पार्किङ, सुरक्षा र सरसफाइलगायतको विषयमा सुझाव आह्वान गरिएको हो ।