विवाहपञ्चमी महामहोत्सव विधिवत रूपमा सुरू, पहिलो दिन नगरदर्शन

जनकपुरधाम, १६ मंसिर । जनकपुरधाममा आइतबारदेखि श्री सीताराम विवाहपञ्चमी महामहोत्सव विधिवत रूपमा सुरू भएको छ ।
सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सवको पहिलो दिन जानकी मन्दिरको प्राङ्गणमा नगरदर्शन विधि सम्पन्न भएको हो ।
यस विधिका लागि आइतबार मन्दिरको प्राङ्गण श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरुको भीडले भरिएको थियो ।
भगवान् राम र लक्ष्मणले पहिलो पटक प्राचीन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महामहोत्सवको पहिलो दिन नगरदर्शन विधि गरिन्छ ।
नगरदर्शन विधिमा राम लक्ष्मणको प्रतीकको रूपमा रहेको दुई बालकलाई मन्दिरको परिक्रमा गराइएको थियो ।
विवाहपञ्चमी महामहोत्सव हेर्नका लागि नेपालको विभिन्न जिल्लासहित भारतबाट समेत श्रद्धालुहरू आउन थालेका छन् ।
मिथिला नरेश राजा जनकको छोरी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाइने गरिन्छ ।
महोत्सवको दोस्रो दिन सोमबार फूलबारी लीला, तेस्रो दिन मंगलबार धनुष यज्ञ, चौथो दिन बुधबार तिलकोत्सव, पाँचौ दिन मंसिर २० गते बिहीबार मटकोर र मंसिर २१ गते शुक्रबार रामसीता स्वयंवर तथा वैवाहिक कार्यक्रम रहेको छ ।
महोत्सवको अन्तिम दिन मंसिर २२ गते शनिबार रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत समापन हुनेछ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


