जनकपुरधाम, १३ मंसिर । जनकपुरधाममा यही मंसिर १६ गतेदेखि सुरु हुने सीताराम विवाहपञ्चमी महामहोत्सवलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले लाखौं तीर्थयात्रीको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले जिम्मेवारी निर्वाह गर्ने जानकारी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले चोरी, डकैती र पाकेटमार जस्ता अपराध रोक्न तालिम प्राप्त सादा पोशाकका प्रहरी परिचालन गरिने बताए । धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले सिमानाबाट मेलासम्मको क्षेत्रमा भारतीय सीमा सुरक्षा बलसँग समन्वय गर्दै ७०५ जना सशस्त्र प्रहरी तैनाथ गरिने र अत्यधिक भीड हुने स्थानमा ड्रोनको सहायताले निगरानी गरिने जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले मेलामा आउने सवारीसाधन र भीड व्यवस्थापनका लागि १४० जना ट्राफिक प्रहरी परिचालन गर्ने र विशेष पार्किङस्थलको व्यवस्था गरिने जनाएको छ । भिभिआइपीका लागि छुट्टै मार्गको तयारी समेत भइरहेको ट्राफिक प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीले बताए ।

जनकपुरधाम उपमहानगरपालिकाले रङ्गभूमि मैदानमा १०० अस्थायी शौचालय निर्माण, हनुमानगढीमा शौचालय तथा ठाउँ–ठाउँमा चापाकलको व्यवस्थापन गरिरहेको छ । नगरप्रमुख मनोज कुमार साहका अनुसार नगर क्षेत्रमा व्यापक सरसफाइ समेत गरिएको छ ।

प्रादेशिक अस्पतालले २४सै घण्टा चिकित्सक तयारी अवस्थामा राख्नुका साथै ७५ शैय्या र आवश्यक औषधिको व्यवस्था मिलाएको अस्पतालका निर्देशक डा. जामुनप्रसाद सिंहले जानकारी दिए । नेपाल रेडक्रसले १०१ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै दुर्घटनामा परेकालाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ ।

खानेपानी संस्थानले ठाउँठाउँमा धाराको जडान गरेको छ भने विद्युत् प्राधिकरणले महोत्सव अवधिभर विद्युत् अवरोध हुन नदिन तयारी गरेको जनाइएको छ । नेपाल टेलिकमले मोबाइल नेटवर्क सुधार्न थप टावर र ओबी भ्यानको व्यवस्था गर्ने भएको छ । सडक डिभिजन कार्यालयले खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा पुर्याएको जनाएको छ ।

यसपटक भारतको अयोध्याबाट पाँच सयको संख्यामा जन्ती आउन लागेका छन् । श्रीराम जन्मभूमि ट्रस्टका केन्द्रीय मन्त्री राजेन्द्र सिंह पङ्कजको नेतृत्वमा जन्ती अयोध्या हुँदै विभिन्न स्थान पार गरेर जनकपुरधाम पुग्ने जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले जानकारी दिए ।

मंसिर १६ गते नगर दर्शनबाट सुरु हुने विवाहपञ्चमी महामहोत्सवअन्तर्गत १७ गते दोस्रो दिन फूलवारी लिला, १८ गते तेस्रो दिन धनुषा यज्ञ, १९ गते चौँथो दिन तीलकोत्सव, २० गते पाँचौ दिन मटकोर, २१ गते छैठौ दिन स्वयम्बर तथा शुभ विवाह र २२ गते सातौँ दिन रामकलेवा हुनेछ । रामकलेवाको भोलीपल्ट आयोध्याबाट आएका जन्तीलाई विदाई गर्ने कार्यक्रम राखिएको दासले बताए ।