क्याम्पस प्रमुख कुशवाहाको हत्या आरोपी सुरेन्द्र पक्राउ

बारा, १३ मंसिर । बाराको कलैयास्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालिन क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्या आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको आदर्शकोतवाल गाउँपालिका–२ का ४१ वर्षीय सुरेन्द्र प्रसाद कुशवाहा रहेको प्रहरीले जनाएको छ । उनी सेनाका भगौडा तथा गाउँघरमा सबैलाई त्रसित बनाउने पृष्ठभूमि भएको व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
घटनापश्चात् फरार रहेका सुरेन्द्रलाई प्रहरीले मोरङ्गबाट पक्राउ गरेर बारा ल्याएको छ । बाराबाट खटिएको बिशेष टोलीले उनलाई बुधबार पक्राउ गरेर बारा ल्याएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
क्याम्पस प्रमुख कुशवाहाको गत जेठ २ गते साँझ आदर्शकोतवाल गाउँपालिका–२ खजुरीया भन्ने ठाउँबाट कलैयातर्फ आउँदै गर्दा गोली प्रहार गरी हत्या गरिएको थियो । प्रहरीका अनुसार मृत्यु अघि पनि प्रमुख कुशवाहाले सुरेन्द्रले आफूमाथि गोली प्रहार गरेको बताएका थिए ।
सुरेन्द्र घटनापश्चात् फरार रहेर भारतको विभिन्न स्थानमा लुकेर बस्दै आएका थिए । प्रहरीको अनुसन्धानमा हत्या घटनामा सुरेन्द्रसहित १७ जनाको संलग्नता रहेको खुलेको थियो ।
अनुसन्धानको क्रममा तत्कालै पक्राउ परेका चन्द्रमणी प्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रवण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी मध्ये राधेस कुमार पटेल र विनोद राउत कुर्मी कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट धरौटीमा छुटेका छन् भने ८ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
उक्त घटनामा प्रयोग भएको हतियार पेस्तोल २ थान, गोली ७ राउण्ड, मोटरसाईकल ४ थान, मोबाईल ४ थान, ल्यापटप २ थान र सिम कार्ड ७ थान बरामद भएको थियो ।
पक्राउ परेका सुरेन्द्रमाथि ज्यान तथा हातहतियार खरखजाना सम्बन्धि कसुरमा मुद्दा दर्ता भई प्रारम्भिक सुनुवाई समेत पुरा भएको डिएसपी सापकोटाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


