मोनाष्टिकको कम्पाउन्डमा विद्यार्थीको हाटबजार, बजारमै शिक्षण सिकाइ

जनकपुरधाम, ८ मंसिर । शनिबार धनुषाको जनकपुरधाम उपमहानगरपालिकास्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयको प्रवेशद्वार छिर्दा मेला–महोत्सवमा पसेजस्तो अनुभूति भयो । विद्यालय प्रवेशद्वारको चारैतिर विद्यार्थीहरु लामबद्ध भई स्टल लगाएर दैनिक उपभोग्य वस्तुहरु लहरै राखेका थिए ।
घर सरसजावटका सामानहरुदेखि लिएर बगिया, पुरी, तरकारी, अचार, फापरलगायतका खाद्यसामग्रीहरु पनि बिक्रीका लागि राखिएका थिए । जुन विद्यार्थी आफैंले बनाएका थिए ।
स्कुले पोशाकमा सजिएका छात्रछात्रा आ–आफ्नो अगाडि भुटेको मकै, सिमी, अमलाको अचार, जरेला, ग्राउन्डएप्पल, मुला, भटमास, तितेकरेला, कागती, मास, चामल, फर्सी, सुठुनी, सुन्तला, तेजपत्ता, दूध, घिउलगायत कृषि उत्पादन राखेर ग्राहकको प्रतिक्षामा बसिरहेका देखिन्थे ।
जनकपुरधाम–१ का अवधेश कामत विद्यार्थीसँग झोलाभरि सामानहरु किनेर फर्कंदै गर्दा हर्षित देखिन्थे । विद्यालयमा सञ्चालन गरिएको हाटबजारले आफूलाई बाल्यकालको स्मरण गराएको कामतले बताए । लोप हुने स्थितिमा पुगेको हाटबजार, आफ्नै समुदायमा रहेको विद्यालयमा सञ्चालन गरिएकामा उनले खुसी व्यक्त गरे ।
‘हाटबजारमा विद्यार्थी आफैंले उत्पादन गरेका सामग्री राखिने खबर पाएको थिएँ,’ उनले भने, ‘उनीहरूलाई प्रोत्साहन गर्न आएको हुँ ।’
बालबालिकालाई पढाइसँगै व्यवसायतर्फ उन्मुख गराउन हाटबजार कार्यक्रम प्रभावकारी हुने अर्का अभिभावक ज्योति झाको भनाइ छ ।
विद्यालयले आयोजना गरेको कार्यक्रममा विद्यार्थीले हाटबजार सञ्चालन गरेका हुन् । हाटबजारमा देशभरिका ३० विद्यालयबाट आएका करिव ३५० जना विद्यार्थीहरुले ८० वटा स्टलमा विभिन्न वस्तुहरु बिक्रीका लागि राखेका थिए ।
‘यो मेरा लागि नयाँ अनुभव हो,’मोनाष्टिकमा अध्ययनरत कक्षा ११ की छात्रा सगुनता रहमानले भनिन्, ‘पढ्दै कमाउँदै कार्यक्रमबाट सीपमूलक काम र हाटबजारबाट व्यापारिक ज्ञान पाएकी छु ।’
रहमान पनि हाटमा साथीसँगै पंक्तिबद्ध भएर प्लास्टिमा प्याक गरेको मकै, चुच्चेकरेलालगायत कृषि उत्पादन बिक्री गरिरहेकी थिइन् ।हप्ताको ६ दिन विद्यालय जाने ती छात्रछात्रालाई शनिबार हटियामा कृषि उपज बिक्री गर्न भ्याइनभ्याई थियो ।
‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यार्थीले उत्पादन गरेका सामग्रीको बजारीकरणमा सहजीकरणका लागि विद्यालयमा हाटबजार कार्यक्रम राखिएको मोनाष्टिक आवासिय माध्यमिक विद्यालयका निर्देशक डाक्टर सोनु साहले बताए ।
उनले भने, ‘अघिल्लो वर्ष हाटबजार आयोजना गरिएपनि सामग्री थोरै भएकाले अभिभावक, विद्यार्थी, शिक्षक–शिक्षिकाबीच सीमित हुन्थ्यो । तर, यसपालि बृहत रुपमा आयोजना गर्न पाउँदा एकदमै हर्षित छु ।’
‘विद्यार्थीलाई हौसला र प्रोत्साहन प्रदान गर्न यसपालि हाटबजारलाई बृहत् गराइएको छ,’ निर्देशक डाक्टर सोनुले भने ।
‘विद्यार्थी पढ्छन् तर रोजगारको ग्यारेन्टी छैन । सीपमूलक काम केही जानेको हुन्न,’ नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष कुशल सुदर श्रेष्ठले भने, ‘शिक्षालाई जीवनोपयोगी सीपसँग जोड्नुपर्छ । पढेर गरिखाने बनाउनु पर्छ । पैसा बोकेर किन्न जाने तर बेच्न लजाउने प्रवृत्ति हटाउनु पर्छ भनेर सिकाउने प्रयास गरिएको हो ।’
यो पनि एउटा पढाइ नै हो,’ कारखानाका सिईओ पवित्र बहादुर गौतमले भने, ‘हाम्रो शिक्षा विद्यार्थीलाई आत्मनिर्भर र स्वावलम्बी बनाउने खालको हुनुपर्छ भन्ने महसुस गरेर यस्तो शैक्षिक अभ्यास गरिएको हो ।’
कारखानाले विद्यार्थीको किन्ने क्षमता हेरेर सामान विद्यालयमा बिक्री गर्ने गर्छ । गौतमका अनुसार अहिलेको सिकाइको तौरतरिकाले विद्यार्थीलाई अलमलमा पारिरहेको छ । यस्तो अवस्थामा २० वर्षको उमेरमा एकैपटक कोही ‘इनोभेटर’ हुन सक्दैनन् भन्ने कारखानाको बुझाइ छ ।
‘त्यसैले हामी पाठ्यक्रममा जे छ, त्यही कुरा उत्पादन गर्छौं । पाठ्यक्रमबाट टाढा हुँदैनौं’ उनले भने, ‘पाठ्यक्रमलाई कक्षामा लिएर जाने तौर–तरिकामा धेरै सुधार गर्नुपर्ने आवश्यकता छ ।’ गौतमका अनुसार कतिपय अवस्थामा अभिभावक आफैंले किन्छन्, विद्यालयले पनि किन्छ, स्थानीय तहसँग पनि सहकार्य गरेर बेचिन्छ ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


