जनकपुरधाम, ७ मंसिर । सशस्त्र प्रहरीका सई थमन बिकको हत्या प्रकरणमा संलग्न फरार एक अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका–६ निवासी ५५ वर्षीय देवेन्द्र चौधरीलाई जलेश्वर कारागार पठाइएको हो ।

महोत्तरी जिल्ला अदालतको आदेशअनुसार, कर्तव्य ज्यान मुद्दामा उनलाई पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुलाल जयसवारले जानकारी दिए ।

चौधरीलाई प्रहरी टोलीले गत कात्तिक २ गते जलेश्वर नगरपालिका–१ स्थित रामानन्द विशेश्वर महेन्द्र क्याम्पस अगाडिबाट पक्राउ गरेको थियो । उनीमाथि दोस्रो मधेश आन्दोलनका क्रममा २०७२ साल भदौ २५ गते महोत्तरीमा सई थमन बिकको हत्यामा संलग्न रहेको आरोप छ ।

अदालतको आदेशपछि चौधरीलाई कानुनी प्रक्रियाका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।