जनकपुरधाम, ७ कार्तिक । जनकपुरधाम उपमहानगरपालिकामा जरिवाना बुझाउन पुगेका एक व्यापारीमाथि नगर प्रहरीले कुटपिट गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ थापा चोकमा किराना पसल सञ्चालन गर्दै आइरहेका कौशलकिशोर साहमाथि बुधबार कुटपिट र दुर्व्यवहार भएको हो ।

पीडित साहका अनुसार नगर प्रहरीका इन्चार्ज नितेशकुमार रायले कुटपिट गरेको आरोप लगाए ।

उनले भने ‘मंगलबार पसलको सरसफाइ गरिरहेको थिएँ, सामानहरु फूटपाथमा थियो, त्यही बेला नगर प्रहरीले सामानहरु यताउता गरेर जरिवानाको पूर्जी थमाई दियो । जरिवानाको विषयलाई लिएर मैले प्रतिकार पनि गर्न खोजें । तर आज आएर जरिवाना बुझाउन जाँदा नगर प्रहरीका इन्चार्ज रायले ढोका बन्द गरेर मलाई कुटपिट गरेका हुन् ।’

यता व्यापारीमाथी कुटपिट भएपछि जनकपुरधाम उद्योग वाणिज्य संघको टोलीले व्यापारी कुटपिटमा संलग्न नगर प्रहरीलाई कारबाहीको माग गरेको छ । जउवा संघका अध्यक्ष सुरेन्द्र भण्डारी, महासचिव फुलदेव पण्डित, सचिव नरेन्द्र बिक्रम साहलगायतका पदाधिकारीहरु उपमहानगरका प्रशासकिय अधिकृत राज कुमार केसीलाई भेटेर सो नगरप्रहरीलाई कारबाही गर्न माग गरेका हुन् । प्रशासकिय अधिकृत केसीले नगर प्रहरीलाई निलम्बन गर्ने प्रतिबद्धता जनाएको जउवा संघका अध्यक्ष भण्डारीले बताए ।

उनले उपमहानगरले कारबाही नगरे आगामी कानूनी बाटो खोज्ने चेतावनी दिएका छन् ।