मिथिलाञ्चलमा आज कोजाग्रत पूर्णिमा मनाइँदै, जानकी मन्दिरमा भोलि मनाइने

जनकपुरधाम, ३० असोज । मिथिलाञ्चलमा आज कोजाग्रत पूर्णिमा धुमधामका साथ मनाइँदै छ । मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमाको विशिष्ट महत्व रहेको छ । आजको दिन नवविवाहिता बेहुली पक्षबाट बेहुला पक्षको घरमा भार (कोसेली) पठाइन्छ । त्यसपछि बेहुलाको चुमाओन गरेर भोजभतेरको आयोजन समेत गरिन्छ ।
मैथिल संस्कृतिमा कोजगरालाई निर्मल, धवल एवम् शीतल रातिकारूपमा प्रसिद्ध मानिएको छ । कोजाग्रतका राती भगवती श्रीलक्ष्मीले स्वयम् निरीक्षण गर्ने र रातीमा जाग्राम बस्नेलाई भगवतीले धनधान्यले पूर्ण गर्छिन् भन्ने जनविश्वास रहेको छ ।
पर्वमा घरको आँगनमा अष्टदल अरिपण समेत दिइन्छ । अरिपन माथि डालासहितका सामग्री राखिन्छ र विशेष मन्त्र उच्चारण गर्दै दुरवाच्छत दिईने गरिन्छ । त्यसपछि बेहुलाको घरमा भोजभतेरको आयोजना गरिन्छ, जसको सम्पूर्ण खर्च बेहुली पक्षले बेर्होनुपर्छ । भोज भतेरपश्चात् पान र मखान बाड्ने गरिन्छ । आजको दिन बेहुली पक्षबाट बेहुलाको घर चाँदीको कौडा बनाएर पठाइन्छ र राती बेहुलीका भाई र बेहुलाले कौडा खेल्ने परम्परा रहेको छ ।
गृहस्थ परिवारमा कोजाग्रत आज मनाइए पनि जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा भने बिहीवार मनाइने छ । उदयाचल तिथिलाई जानकी मन्दिरले मान्ने भएकाले अन्यले मनाउने कोजाग्रतभन्दा जानकी मन्दिरमा बिहीबार कोजाग्रत पूर्णिमा मनाइने मन्दिरका सहायक महन्थ रामरोशन दासले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


