विजयादशमीको अवसरमा जनकपुरधाममा शोभा यात्रा निकालियो

जनकपुरधाम, २६ असोज । विजयादशमीको अवसरमा शनिबार जनकपुरधाममा शोभा यात्रा निकालिएको छ ।
असत्यमाथि सत्यको जित भएको विशेष दिनका रुपमा विजयादशमीलाई मनाइने गरिएकोले सो अवसरमा शोभा यात्रा निकालिएको हो ।
विभिन्न कालखण्डमा आदीशक्ति माता दुर्गा भवानीले दुष्ट राक्षसको बध गरेको, महाभारतमा भगवान श्री कृष्ण सहित सत्यको पक्षधर समुहको जित आजकै दिन भएको भन्दै विजयादशमीका दिन विजय उत्सव मनाइन्छ ।
यसै मान्यताका कारण जनकपुरधामको जानकी मन्दिर र राम मन्दिरबाट विशेष डोला निकाल्दै डोलाको नेतृत्वमा नगरभित्र विजय जुलुस निकालिएको छ ।
विजयादशमीको अवसरमा जानकी मन्दिरबाट माता जानकीको डोलासहित जनकपुरधाम नगर दर्शन गराइएको महावीर युवा कमिटीका अध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिए ।
महाभारतमा भगवान श्री कृष्णको रथमा रहेको ध्वजामा महावीर (हनुमान) जी सवार रहेको र फलस्वरुप असत्य माथी जित हात पार्न सकिएको भन्दै आजकै दिनलाई विशेष मान्दै महावीर(हनुमान)जीको ध्वजारोहन गर्ने परम्परा रहिआएकोले जानकी मन्दिरको प्राङ्गणमा रहेको हनुमान जीको ध्वजारोहन समेत गरिएको छ ।
नयाँ ध्वजा सहित माता जानकी जीको डोला निकालेर विवाह मण्डपमा पुगेर पुजापाठ गरिएपछि जानकी मन्दिरमा विशेष विधीका साथ ध्वजारोह गरिएको हो ।
भगवान रामले असत्यको बाटो हिंडेका दुष्ट रावणलाई परास्त गर्दै उनको बध गरि आजकै दिन असत्यमाथि जित हात पारेको र आदीशक्ति माता नवदुर्गा भवानीको पूजा गरेको हुनाले आजकै दिन जनकपुरधाममा विजय यात्रा निकालिएको छ ।
श्री राम मन्दिरबाट भगवान श्री सितारामको डोलासहित मन्दिर र युवा क्लवहरुका प्रतिनिधीहरु जनकपुरधामको जनकमन्दिर, दशरथ मन्दिर सहित विभिन्न क्षेत्रको नगरपरिक्रमा गर्दै जानकी मन्दिर पुगेर त्यहाँ टिकाटालो र परम्परागत विधी गरेपछि पुनः राम मन्दिर फर्किएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


