जनकपुरधाम, २४ असोज । जनकपुरधामको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा बलिप्रदान जारी रहेको छ ।

मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा आज अष्टमी तिथिका दिन साँझ ८:१५ बजेबाट बलिप्रदान गर्न सुरु गरिएको महावीर युवा कमिटीका अध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिए ।

मन्दिरमा बिहान करिव ४ बजेसम्म बोकाबली प्रदान हुने उनले बताए। बोकाबलीका लागि चारवटा ठेहा (बोकाबली प्रदान गर्ने स्थल) को व्यवस्थापन गरिएको छ ।

अध्यक्ष गुप्ताले एउटा ठेहामा ७ जनाको दरले स्वयंसेवक परिचालन गरिएको र सोहीअनुपातमा प्रतिमिनेट एक सयको संख्यामा बोकाबली प्रदान भइरहेको बताए ।

उनले बोकाबलीका लागि अहिलेसम्म १० हजारभन्दा बढि रसिद काटिइसकिएको र लाइनमै पनि रसिद काटने व्यवस्था मिलाइएकोले यसवर्ष करिव १७ हजार बोकाबली प्रदान हुने आफूहरूले अनुमान गरेको जानकारी दिए ।

बोकाबलीका लागि मात्रै ४५ जना स्वयंसेवक परिचालन गरिएको अध्यक्ष गुप्ताले बताए ।

चढाइएको बोकाको व्यवस्थापनका लागि यसवर्ष पनि जनकपुरधाम उपमहानगरपालिकाले प्लाष्टिकको बोराको व्यवस्था गरिदिएको छ ।

बोका चढाइएपछि सो बोरामा हालेर बोकाधनीलाई जिम्मा लगाउने व्यवस्था गरिएको महावीर युवा कमिटीले जनाएको छ ।

राजदेवी मन्दिरमा अघिल्लो वर्ष १५ हजारभन्दा बढि बोकाबली प्रदान गरिएको थियो ।