जनकपुरधाममा बिहीबारदेखि दशैं बजार सुरु

जनकपुरधाम, १७ असोज । विगत करिव ४ दशकदेखि जनकपुरधाममा दशैं, दीपावली तथा छठ पर्वको अवसरमा लाग्दै आएको दशैं बजार (सस्तो बजार) यस वर्ष पनि सुरु भएको छ ।
जनकपुरधामको गोपाल धर्मशालामा बिहीबार दशैं बजारको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शुभारम्भ गरेका हुन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघले उपभोक्तालाई एकै ठाउँबाट आवश्यकपर्ने वस्तु तथा सेवा उपलब्ध गराउने उद्देश्यले दशैँ सस्तो बजारको शुभारम्भ गरेको छ ।
‘गुणस्तरीय सामान प्रयोग गरौँ, दशैँ सस्तो बजार अवलोकन गरौँ’ भन्ने मूल नाराका साथ स्थानीय गोपाल धर्मशालामा सुरु भएको सस्तो बजारमा बजारको मूल्यभन्दा सस्तो दरमा खाद्यान्नका सामान पाइने जनकपुरधाम उद्योग वाणिज्य संघका सचिव नरेन्द्र बिक्रम साहले जानकारी दिए ।
अष्टमीसम्म चल्ने सो बजारमा चिनी, घिउ, तेललगायत दैनिक उपभोग्य सामग्रीका ९७ वटा स्टलहरु राखिएको उनले जानकारी दिए ।
चाडपर्व लक्षित लगाइएको बजारमा सहुलियत दरमा गुणस्तरीय खाद्यान्नसहितका दैनिक उपभोग्य सामानहरू बिक्री भइरहेको उनले बताए । यी स्टलहरुमा पूजा सामग्रीदेखि खाद्यान्नहरु राखिएको छ । बजारको व्यवस्थापनको लागि सातवटा उपसमिति पनि बनाइएको छ ।
गोपाल धर्मशालाको भवन तथा बाहिर आकर्षक पण्डालहरु निर्माण गरेर दशैं बजारको व्यवस्थापन गरिएको छ । दशैं बजारमा खास गरेर स्वदेशमा उत्पादन भएको दैनिक उपभोग्यका सामग्री, खाद्यान्न, प्लाष्टिकका सामान, अगरवत्ती, चियापत्तीको बिक्री अत्यधिक हुने गरेको छ ।
व्यापारीहरुले थोक मूल्यमा खुद्रा बिक्री गर्ने भएकाले दशैं बजारबाट कतिपय सामानहरु उपभोक्ताले वर्ष भरिका लागि भण्डारण गर्ने गरेका छन् । दशैं बजारबाट सामानहरु खरिद गर्नका लागि धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, सिन्धुली तथा उदयपुरलगायतका उपभोक्ताहरुसमेत आउने गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


