राजदेवी मन्दिरमा बिहीबार बलि प्रदानको कार्यक्रम

जनकपुरधाम, १७ असोज । बडादशैंको आठौं दिन असोज २४ गते बिहीबार जनकपुरधामको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा बलि प्रदानको कार्यक्रम हुने भएको छ । माता राजदेवीको मन्दिरमा निशा पूजा सम्पन्न भएलगत्तै बलि दिन सुरू गरिन्छ ।
महावीर युवा कमिटीका अध्यक्ष अजयकुमार गुप्ताले मिथिला पञ्चाङ्ग अनुसार यसवर्ष महाअष्टमी असोज २४ गते बिहीवार बिहान ८ बजेदेखि २५ गते शुक्रबार बिहान ८ बजेसम्म मात्र रहेकोले माता राजदेवी मन्दिरमा बलिप्रदान २४ गते बिहिवार हुने जानकारी दिएका छन् ।
राजदेवी मन्दिरमा बलि दिनका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु दिउँसोदेखि लाइनमा लागेका हुन्छन् । बलि प्रदानको कार्यक्रम बिहान करिव ४ बजेसम्म चल्ने अध्यक्ष गुप्ताले जानकारी दिए ।
बोकाबलीका लागि यसपालि ४ वटा अस्थायी ठेहा राखिएको छ । प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालित गरिने अध्यक्ष गुप्ताले बताए । उनले बलि प्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन ५ सयको संख्यामा स्वयंसेवक परिचालन गरिनेसमेत जानकारी दिए । बोकाको लाइनसहित डोरी र व्यवस्थापनको लागि समेत प्रतिठेहा १० जना जनशक्ति खटाइने उनले बताए ।
यता, सुरक्षा व्यवस्थालाई दृष्टिगत गर्दै दशैंमा जनकपुरधाम नगरभित्र मात्र करिब १ हजार ५ सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।
उनले जिल्ला प्रहरी कार्यालयका १ हजार भन्दा बढि, दंगा प्रहरी गणका २ सय, सशस्त्र प्रहरीको टोली २ सय र सादा पोशाकमा पनि करिव १ सयको संख्यामा सुरक्षाकर्मी २४सौं घण्टा परिचालित गरिने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


