जनकपुरधाम, १७ असोज । ५२ कुट्टी र ७२ कुण्डको नामले विश्वप्रसिद्ध धार्मिक नगरी जनकपुरधामस्थित मुख्य शक्तिपिठ माता राजदेवीको पुजा यसवर्ष पनि व्यवस्थित ढंगले भव्यताका साथ मनाइँदै छ ।

हरेक वर्ष जस्तै यसवर्ष पनि पुजा एवं मन्दिरको व्यवस्थापन तथा दशैं मेलाको आयोजना श्री महावीर युवा कमिटिले गरिरहेको छ ।

कमिटिका अध्यक्ष अजय गुप्ताले मेला र पुजा व्यवस्थापनका लागि कलश शोभा यात्रादेखि बोकाबली प्रदानसहित रावणवधसम्मको विभिन्न १३ वटा उपसमितिहरु बनाइएको जानकारी दिए ।

गत १० वर्षदेखि बोकाबलीको टिकट दर दुईसय रुपैयाँ रहेकोमा यसवर्ष तिनसय रुपैयाँ कायम गरिएको जानकारी दिंदै अध्यक्ष गुप्ताले हरेक बोकाबलीका लागि आउने सम्पुर्ण श्रद्धालु र उनका परिवारजनलाई निशुल्क भोजनको व्यवस्थापन गरिएको बताए ।

विगतका वर्षहरु भन्दा पनि उत्कृष्ट सरसजावट र तयारीका साथ आफुहरु सक्रिय रहेको बताउँदै उनले नेपालकै सबैभन्दा बढि भिडभाड हुने यो एतिहासिक मेला आफुहरुले ३४ वर्षदेखि आयोजन गर्दै आएको भएपनि अहिलेसम्म कुनै सरकारले स्वामित्व गर्न नमानिरहेको गुनासो पोखे ।

मन्दिरमा पूजा गर्न आउने श्रद्धालु भक्तजनलाई कुनै किसिमको असुविधा हुन नदिन कमिटीले एकसयको संख्यामा स्वयंसेवक परिचालन गरेको अध्यक्ष गुप्ताले बताए ।

विशेषगरी सप्तमी र अष्टमी तिथिमा श्रद्धालु भक्तजनको विशेष भिड हुनेगरेको र त्यसलाई मध्यनजर गरी स्थानीय प्रशासनसँगको समन्वयमा कमिटीले मन्दिरभित्र र बाहिर सिसिटिभी जडान गरी निगरानी गर्ने अध्यक्ष गुप्ताले जानकारी दिए ।