पानीको उचित निकास नहुँदा जनकपुरधाम जलमग्न

जनकपुरधाम, १२ असोज । निरन्तरको वर्षाका कारण मधेश प्रदेशको राजधानी जनकपुरधाम जलमग्न भएको छ । जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश घर डुबानमा परेका छन् ।
पानीको उचित निकास नहुँदा अविरल वर्षाका कारण बस्ती नै जलमग्न भएको उपप्रमुख किशोरी साहले जानकारी दिएका छन् ।
अधिकांश घरमा पानी पसेपछि स्थानीयवासी समस्यामा परेका छन् । पानी निकासको समस्या समाधान नहुँदा बर्षेनि डुबानको समस्या हुने गरेको छ ।
वर्षाका कारण जनकपुरधामस्थित अधिकांश सरकारी कार्यालय परिसरमा पानी जमेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, जिल्ला प्रशासन, जिल्ला प्रहरी, आन्तरिक राजस्व, हुलाकलगायत सरकारी कार्यालयहरुको परिसरमा पानी जमेको छ ।
बजार डुबानमा परेपछि व्यापार व्यवसाय चौपट भएको छ । अहिलेसम्म मधेश प्रदेशमा कुनै मानवीय क्षति नभएको मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले जानकारी दिए ।
प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले लगातारको वर्षा र बाढीका कारण प्रदेशका विभिन्न नदीको जलस्तरमा अत्यधिक वृद्धि भइरहेकाले तटीय क्षेत्रमा आवश्यक विपत् प्रतिकार्य गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सिंहले शनिबार पूर्वपश्चिम राजमार्गस्थित बागमतीलगायत विभिन्न नदीको अवलोकनपछि मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणि आचार्य र सशस्त्र प्रहरी बलको नम्बर २ छिन्नमस्ताबाहिनी मुख्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक कालीदास धवोजीसँग फोन सम्पर्क गरी जोखिममा रहेका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न र मानवीय तथा भौतिक क्षति हुन नदिन लगायतका सबै खालका उद्धारजन्य कार्यका जुट्न निर्देशन दिएका हुन् ।
प्रदेशमा कार्यरत दुवै अधिकारीले सप्तकोसी र बागमती नदीबाहेक अन्य नदीको जलस्तर खतराचिह्नभन्दा माथि पुगि नसकेको मुख्यमन्त्रीलाई जानकारी गराएका छन् । उनीहरूले तटबन्धलगायतका संरचनाको आकस्मिक संरक्षण गरी गाउँबस्तीमा जलप्रवाह रोक्न, डुबान क्षेत्रबाट सुरक्षित स्थानमा जोखिममा रहेकालाई स्थानान्तरण गर्न र अन्य संकटबाट पार पाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी विभिन्न ठाउँमा परिचालन भइरहेको बताए ।
उनले विपद् व्यवस्थापन कार्यका लागि जिम्मेवार जनप्रतिनिधि र सरकारी अधिकारी तथा स्वयंसेवी संस्थाहरूसमेतलाई बाढीपानीबाट उत्पन्न हुने विपत् सामना गर्न तयार अवस्थामा रहन आह्वान गरेका छन् ।
शनिबार बागमती नगरपालिकाको कर्मेयास्थित बागमती पुलमा पुगेका मुख्यमन्त्री सिँहले ५ हजार ५ सय क्युसेक पानीको बहाब पुगेको र त्यो स्थिति खतराचिह्नभन्दा ५ सयले बढी भएको भन्दै कुलेखानी जलविद्युत् केन्द्रको बाँधका ढोका खोलिँदै गइरहेकाले जलस्तरमा थप वृद्धि हुने हुँदा नदी किनारका रौतहट र सर्लाही जिल्लाका सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । बागमती बराजको सबै ३६ वटा ढोका खोलिएका छन् ।
उनले सप्तकोसीमा तीन लाखभन्दा बढी क्युसेक पानीको बहाब खतरापूर्ण मानिने भएकोमा ४ लाख ८० हजार ४ सय ९५ क्युसेक पानीको बहाव भइरहेको र जलस्तर अझै बढ्ने अनुमान गरिएकाले त्यस क्षेत्रमा समेत उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको बताए ।
प्रदेशको कमला नदीमा जलप्रवाह ११ हजार ५० क्युसेक छ ।
प्रदेशमा अहिलेसम्म कुनै ठाउँमा मानवीय तथा भौतिक क्षति भएको छैन । चट्याङ परेर रौतहटमा एउटा गाईको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १२ स्थित लालबकैया नदीको तटबन्ध भत्किन लागेको खबर प्राप्त भएपछि नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकसहितको टोली त्यस ठाउँमा पुगी बाँध मर्मतको कार्य गराइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले पनि वर्षा जारी रहेकाले नदी आसपासका स्थानीयवासीलाई सचेत रहन आग्रह गरेको छ । कमला नदी र रातुखोलामा पानीको सतह बढ्न सक्ने भएकाले नदी आसपासका क्षेत्रका स्थानीयवासीलाई सचेत रहन आग्रह गरिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


