प्याब्सन, एनप्याब्सन र हिसानद्वारा निःशुल्क बास तथा भोजनको व्यवस्थापन

जनकपुरधाम, १२ असोज । वर्षायामसँगै फैलिने सरुवा रोगको प्रमुख माध्यम पिउने पानी हो । साथमा सरसफाइ प्रतिको बेवास्ता पनि त्यत्तिकै बलियो कारण मानिन्छ । देशव्यापी रुपमा परिरहेको पानीका कारण आएको बाढी, पहिरो र भूक्षयले गम्भीर समस्या सिर्जना गरेको छ ।
राज्यले यस्ता समस्यालाई प्रमुख विषयका रुपमा प्राथमिकतामा नराख्दा देशमा वर्षेनी ठूलो आर्थिक तथा मानवीय क्षति हुनुका साथै सरुवा रोग फैलिने गरेको छ । बाढी, पहिरो र डुबानसँगै घर छोड्न बाध्य नागरिकको बसाइका लागि सुरक्षित स्थानको खोजी भइरहेको बेला जनकपुरधामस्थित निजी विद्यालयहरुको छाता संगठनले सराहनीय कदम चालेको छ ।
निरन्तरको अविरल वर्षाका कारण कसैलाई बास र भोजनको समस्या भए निजी विद्यालयहरुको छाता संगठन प्याब्सन, एनप्याब्सन र हिसानले निःशुल्क बास र भोजनको व्यवस्थापन गर्ने भएको छ ।
एनप्याब्सनका जनकपुरधाम नगर अध्यक्ष दिपक कुमार ठाकुरले सामाजिक सञ्जाल फेसबुकमा एक सूचना जारी गर्दै भनेका छन्,‘ अविरल वर्षाका कारण बास र भोजनको समस्या भए हामी निजी विद्यालय तपाईंको साथमा छौं र निःशुल्क उपलब्ध गराउने छौं ।’
उनले बाढी, पहिरो र डुबानसँगै घर छोड्न बाध्य नागरिकको बसाइ तथा भोजनको व्यवस्थापन गर्नका लागि आफूहरु तयार रहेको बर्ताका छन् । यस्तो विपत्तका बेला कसैलाई कुनै समस्या भए आफूहरुसँग सम्पर्क गर्न आग्रहसमेत उनले गरेका छन् ।
नगर अध्यक्ष ठाकुरले त्यस्ता पीडितहरुलाई प्याब्सनका नगर अध्यक्ष रबिन्द्र चौधरीको मोबाइल नम्बर ९८५४०३०७२४, एन–प्याब्सनका नगर अध्यक्ष दिपक कुमार ठाकुरको मोबाइल नम्बर ९८४००२८७२३ र हिसानका अध्यक्ष सञ्जिव ठाकुरको मोबाइल नम्बर ९८०१६२५०४३ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।
डुबानमा परेको बस्तीका नागरिकलाई सुरक्षित अवतरण कसरी र कहाँ गर्ने, ती बस्तीका मानवका साथै चौपायाहरुको अवस्थाको तथ्यांक कसरी लिने र शारीरिक तथा मानसिक सुरक्षा प्रबन्ध कसरी उपलब्ध गराउँने भन्ने विस्तृत तयारी सरकारसँग नरहेको बेला निजी विद्यालयहरुको यस्तो कदम सराहनीय देखिन्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


