जनकपुरधाम, ३० भदौ । जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन्द्र भण्डारी निर्वाचित हुँदा बरिष्ठ उपाध्यक्ष र महिला उपाध्यक्ष पदको मतगणना जारी नै रहेको छ ।

अहिलेसम्मको मतपरिणाम हेर्दा बरिष्ठ उपाध्यक्षमा ३ हजार १० मतगणना सम्पन्न भइसकेको छ । जसमा मनोज साहले १ हजार ५५६ मत ल्याएका छन् । त्यस्तै, अम्भु प्रसाद साहले ९२७ र विकास कुमार चौधरीले ४५६ मत प्राप्त गरेका छन् । बरिष्ठ उपाध्यक्षमा ७१ वटा मत बदर भएको छ ।

त्यस्तै, महिला उपाध्यक्षमा ३ हजार २४ मतगणना हुँदा रिंकु साहले १ हजार ३७२, माया साहले ९५९ र सरिता ठाकुरले ६३४ मत ल्याएकी छन् । महिला उपाध्यक्षमा अहिलेसम्म ५९ वटा मत बदर भएको निर्वाचन समितिका अध्यक्ष ललित साहले जानकारी दिए ।

संघको सम्वद्व सदस्यमा रेडिमेड संघका अभय मुरारका निर्वाचित भइसकेका छन् । रेडिमेड, सुनचाँदी र पोल्ट्रिर्फम गरि तिन बस्तुगत मतदाता रहेको सो सदस्यका लागि रेडिमेडबाट मुरारका र एकजना सुनचाँदीबाट दुईजना उम्मेदवार थिए । पोल्ट्रिर्फमले रेडिमेडलाई मत दिएपछि मुरारका विजयी भएका हुन् ।

संघको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो । निर्वाचनमा जम्मा ४ हजार ७६ जना मतदाता थिए । मतदानमा भने ३ हजार ५७४ मत खसेको थियो ।