जनकपुरधाम, ३० भदौ । शनिबार सम्पन्न जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा ३ हजार ५ सय ७४ मत खसेको छ । जुन अपेक्षाकृत नै हो । १७ पदको लागि भएको निर्वाचनमा ४२ जना उम्मेदवारबीच प्रतिस्पर्धा छ । उनीहरूको भविष्य मतपेटिकामा बन्द छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघमा कुल ४ हजार ७६ मतदाता छन् । निर्वाचन समितिका संयोजक ललित साहले मतगणनाको अन्तिम गृहकार्य भइरहेको जानकारी दिए । उनले मतदानमा जम्मा १० वटा बक्सा प्रयोग गरिएको र सबै बक्साबाट मतपत्र निकालेर एकठाउँमा जम्मा गरिसकेपछि मात्रै मतगणना सुरू गरिने जानकारी दिएका छन् ।

आइतबार बिहानदेखि मतगणना कार्य धमाधम हुने उनले जानकारी दिए ।

निर्वाचन समितिका संयोजक साहले समितिको प्रणालीमा प्रविष्ट भएको प्रारम्भिक विवरणअनुसार कूल ३ हजार ५ सय ७४ मत खसेको बताए ।

तिनवर्षे नयाँ कार्यकालका लागि शनिबार जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको हो ।