जउवा संघको मतदान सम्पन्न : कूल ३ हजार ५ सय ७४ मत खस्यो

जनकपुरधाम, २९ भदौ । जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ ।
शनिबार बिहान ९ बजेदेखि सुरु भएको मतदान साँझ ७ बजे सकिएको छ । कुल ४ हजार ७६ मतदाता रहेकोमा ३ हजार ५ सय ७४ मत खसेको निर्वाचन समितिका संयोजक ललित कुमार साहले जानकारी दिएका छन् । निर्वाचनको मतगणना आज रातिदेखिनै सुरु गरिने उनले बताए । संघमा आगामी तिन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चुनिन लागेको हो ।
संघको उपाध्यक्ष बाहेकका अन्य पदमा मतदान भएको हो । उपाध्यक्ष पदमा लक्ष्मण साह निर्विरोध चयन भइसकेका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा धेरै वर्षपछि यस किसिमको चाम देखिएको थियो । मतदाताहरूले संसदीय निर्वाचनकै झल्को आएको प्रतिक्रिया दिएका छन् । वाणिज्य संघको निर्वाचनमा व्यवसायीभन्दा धेरै नेता हाबी भएपछि निर्वाचनको माहौल बढेको थियो ।
संघको अध्यक्ष पदकालागि जितेन्द्रप्रसाद साह, सुरेन्द्र भण्डारी र मनिषरमण साह चुनावी प्रतिस्पर्धामा छन् ।
सुरेन्द्र होटेल व्यवसायी हुन भने जितेन्द्र अल्मुनियम र मनिष ज्वेलरीको व्यापार गर्छन् । जितेन्द्र यसअघि वरिष्ठ उपाध्यक्ष भएर जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्व सम्हालिसकेका छन् । उनी पछिल्लो निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका थिए । भण्डारी उपाध्यक्ष भएर काम गरिसकेका छन् । त्यस्तै मनिष वर्तमान कार्यकाल वरिष्ठ उपाध्यक्ष भएर उद्योग वाणिज्य संघको नेतृत्व पंक्तिमा रहेर काम गरेका छन् ।
निर्वाचन समितिका संयोजक साहले दिएको जानकारी अनुसार अध्यक्षसहित १७ सदस्यीय कार्यसमितिका लागि ४२ जनाले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षका लागि मनोजकुमार साह, विकासकुमार चौधरी र अम्भुप्रसाद साहले उम्मेदवारी दिएका छन् । त्यस्तै उपाध्यक्षमा लक्ष्मण साह निर्विरोध निर्वाचित भइसकेका छन् ।
महिला उपाध्यक्षका लागि रिंकु साह, माया कुमारी र सरिता ठाकुरले उम्मेदवारी दिएकी छन् । त्यस्तै महासचिवका लागि फुलदेव पण्डित, गणेशकुमार साह, अशोककुमार चौधरी र सुधीर पजियारसहित चारजनाले उम्मेदवारी दिएका छन् ।
सचिवका लागि नरेन्द्रविक्रम साह, राकेश पजियार, श्रवण कुमार साह र गोपी कुमार साह प्रतिस्पर्धामा छन् । कोषाध्यक्षमा भने रामचन्द्र पजियार, मनोज कुमार शर्मा, राकेश कुमार साह र परमेश्वर साहबिच प्रतिस्पर्धा छ ।
एशोसिएट सदस्य पदमा दीपककुमार साह र अभिषेककुमार चौधरीबिच प्रतिस्पर्धा हुने देखिन्छ ।
त्यस्तै ६ जना कार्यसमिति सदस्यका लागि रमेश महतो, सन्तोषकुमार गामी, मणिशंकर प्रसाद साह, दुर्गेशकुमार साह, दीपमणि साह, प्रवीणकुमार साह सोनार, सुरेन्द्र दास, धर्वेन्द्र साह, गौरीशंकर साह, निरजकुमार साह, रामजीवन साह, राकेशकुमार साह, जीवछ साह, बलरामकुमार साह, ध्रुब कुमार साह, दिलिप कुमार साह र सुनिल दास कथबनियाले उम्मेदवारी दिएका छन् ।
त्यस्तै सम्बद्ध सदस्यमा जनकपुरधाम कपडा तथा रेडिमेड र जनकपुरधाम सुनचाँदी व्यवसायी संघको उम्मेदवारी परेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


