जनकपुरधाम, २९ भदौ । जनकपुरधामका सञ्चारकर्मीद्वय रौनक यादव र गिरिजानन्द साह भदौ २९ गते दिउँसो खाना खान होटल खोज्दै थिए । यसअघि घरमै खाना खाने उनीहरु आज भने जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावका कारण होटलमै खाना खाने भए । रिपोर्टिङ्ग पनि नछुटोस् र खाना पनि खान पाइयोस् भन्ने उदेश्यले उनीहरु व्यापार संघकै छेउमा रहेको होटल लक्ष्मी मिष्ठान भण्डारमा पुगे ।

उनीहरु खाना खान त्यस होटल तर्फ लागे । रौनकले खाना खाए र गिरिजानन्दले दुईवटा समोसा । तर जब खाएर उनीहरु पैसा तिर्न होटलको काउन्टरतर्फ गए, होटलको शुल्क देखेर उनीहरु छक्क परे । सो होटलले प्रति सादा खानाको शुल्क ४ सय र समोसाको प्रतिपिस ३० रुपैयाँ लिइरहेको थियो ।

रौनकले भने, ‘वरपर अर्को कुनै होटल छैन, अर्को ठाउँ खान जाऔं भनेपनि विकल्प छैन, भोक लागिसकेको छ, महँगो खाना नखानुको विकल्प नै थिएन ।’

‘जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावकै दिन लक्ष्मी मिष्ठान भण्डारमा सादा खाना ४ सय । संघकै छेउमा रहेको होटलले यस्तो लुटजस्तो महँगो दर किन लिन्छ ? के पाइन्छ त यहाँ ४ सयमा सादा खाना ? सादा खाना समेत सर्वसाधारणको पहुँच बाहिर पुर्याएर होटलले खुल्ला शोषण गरिरहेको छ । र, संघका पदाधिकारीहरू भने मूकदर्शक बनेका छन् । पर्यटन व्यवस्थापनमा उम्मेदवारहरू भाषण ठोकेर अघि बढ्छन् । तर, आम जनताको दैनिक आवश्यकतामाथिको यस्तो लुटप्रति किन मौन छन् ? यो प्रश्न हो—कसको लागि चुनाव ?’ उनले भने ।

रौनक मात्र होइन सो होटलमा खाना खान गएका अन्य व्यक्तिहरु पनि होटल सञ्चालकसँग खाना नमिठो र महँगो भएको भन्दै गुनासो गर्दै थिए । तर, होटलवालाहरु भने खाए खानुस् नखाए जानुस् भनेर धम्किपूर्ण भाषा प्रयोग गरिरहेका थिए ।

‘खाना पनि मिठो छैन, महँगो असाध्यै छ, यसरी लुटधन्दा गरिहँदा पनि यस्ता होटलहरुमा कहिल्यै अनुगमन हुँदैन, व्यवसायी र होटल सञ्चालकहरुको मिलोमतोमा यात्रु ठगिँदैछन्,’ उनले भने ।

यो त एक प्रतिनिधि घटना मात्रै हो । अहिले जनकपुरधामका अधिकांश होटलहरुले खानाको महँगो शुल्क लिने बुझिएको छ । यिनीहरुले अस्वस्थ्य खाना खुवाउने मात्रै होइन महँगो शुल्क पार्न पनि बाध्य पारिरहेका छन् । यहाँका होटलहरुले ग्राहकलाई ठगी गर्ने घटना नयाँ नभएपनि अनुगमन भने हुने गरेको छैन । होटल सञ्चालकहरुले ग्राहकहरुलाई ठगी गरेपनि नियमन गर्ने निकाय भने जहिल्यै मौन देखिन्छ ।

होटल व्यवसायी रामविनोद चौधरी भने त्यस्ता होटलहरुलाई तत्कालै कारवाही गर्नुपर्ने बताउँछन् । ‘ग्राहकलाई सत्कार गर्नु हाम्रो कर्तव्य हो, पैसा कमाउने चक्करमा यात्रुलाई ठग्न मिल्दैन, त्यस्ता होटललाई सम्बन्धित निकायले तत्काल कारवाही गरोस्,’ उनले भने ।

उनले यात्रुहरुले होटेल सरकारी निकायमा दर्ता भएको छ कि छैन भनेर पनि हेर्नुपर्ने सुझाव दिए ।

लक्ष्मी मिष्ठान भण्डारले यसअघि पनि कर छली गर्न अवैध रुपमा कम्प्यूटर बिलिङ्ग गर्दै आइएको पाइएको थियो । प्यानमा दर्ता रहेको लक्ष्मी मिष्ठान भण्डारले कर छली गर्न अवैध रुपमा कम्प्यूटर बिलिङ्ग गर्दै आएको घटना बाहिरिएको थियो । आन्तरिक राजश्व कार्यालयको नियमानुसार वार्षिक ५० लाख रुपैयाँभन्दा कमको कारोबार गर्नेले प्यानमा र ५० लाखभन्दा माथि कारोबार गर्नेले अनिवार्य रुपमा भ्याटमा दर्ता हुनुपर्ने प्रावधान छ । तर भ्याटमा जानबाट बच्न ५० लाखभन्दा कम व्यवसाय देखाउन फर्जी कम्प्यूटर बिलिङ्ग गर्दै आएको पाइएको थियो ।

एउटै प्यान नम्बरमा सञ्चालकले उपमहानगर कार्यालय नजिक र जानकी मन्दिर अगाडि गरी दुईवटा होटल सञ्चालन गर्दै आएको छ ।दैनिक लाखौं रुपैयाँको कारोबार रहेको लक्ष्मी मिष्ठान भण्डारले प्यानमा दर्ता भएपनि ग्राहकलाई बिना प्यान, संस्थाको नाम उल्लेख नरहेको कम्प्यूटरकृत बिल दिइरहेका छन् । हुनत ग्राहकले माग गरेको अवस्थामा हस्तलिखित प्यान बील समेत दिन्छन् । प्यानमा श्री लक्ष्मी मिष्ठान भण्डारको नामले दर्ता छ । प्यान बील पनि सोही नामले दिइरहेका छन् । तर राजश्व कार्यालयलाई झुक्याउन एउटा होटलको नाममा प्यान अनुसार नै राखेको छ भने अर्को होटलमा ‘श्री’ हटाएर लक्ष्मी मिष्ठान भण्डार मात्रै राखेका छन् ।

आन्तरिक राजश्व कार्यालयका एक कर्मचारीका अनुसार कुनैपनि फर्म/संस्थालाई कम्प्यूटर बील प्रदान गर्न राजश्वमा कुन सफ्टवेयर चलाउने जानकारी गराई त्यहाँबाट स्वीकृति सहित कोड नम्बर लिनुपर्ने हो । ग्राहकलाई बिल प्रदान गर्दा फर्म/संस्थाको नाम, प्यान/भ्याट नं. र राजश्व कार्यालयबाट प्राप्त कोड नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हो ।

यति मात्र नभई सो मिष्ठान भण्डारले जनकपुरधामको अन्य होटलभन्दा दोब्बरभन्दा बढी चर्को मूल्य लिइ ग्राहकलाई लुटदै आएको देखिन्छ ।