जनकपुरधाम, २९ भदौ । जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज भदौ २९ गते शनिबार निर्वाचन भइरहेको छ । बिहान ९ बजेदेखि मतदान जारी रहेको निर्वाचन समितिका संयोजक ललित कुमार साहले जानकारी दिए ।

मतदानको क्रममा वर्षा हुँदा मतदाता र उम्मेदवारहरुलाई प्रचारप्रसार तथा मत माग्नमा केही समस्या देखिएको छ । यद्यपि मतदानमा सहभागी हुनका लागि मतदाताहरु आउने क्रम जारी रहेको छ । संयोजक साहले दिउँसो साढे २ बजेसम्म करिव १५ सय मत खसेको जानकारी दिए ।

जनकपुरधाम उद्योग वाणिज्य संघको भित्री प्राङ्गणमा मतदाताहरुका लागि ४ वटा लाइन बनाइएको छ । एक समयमा ३० जनासम्म मतदाताले मतदान गर्न सक्नेगरी व्यवस्था मिलाइएको संयोजक साहले बताए । निर्वाचन समितिका संयोजक साहले स्वास्तिक चिन्ह लगाउन ३० वटा स्थान बनाइएको जानकारी दिए ।

संघको अध्यक्ष पदकालागि जितेन्द्रप्रसाद साह, सुरेन्द्र भण्डारी र मनिषरमण साह चुनावी प्रतिस्पर्धामा छन् ।

सुरेन्द्र होटेल व्यवसायी हुन भने जितेन्द्र अल्मुनियम र मनिष ज्वेलरीको व्यापार गर्छन । जितेन्द्र यसअघि वरिष्ठ उपाध्यक्ष भएर जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्व सम्हालिसकेका छन् । उनी पछिल्लो निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका थिए । भण्डारी उपाध्यक्ष भएर काम गरिसकेका छन् । त्यस्तै मनिष वर्तमान कार्यकाल वरिष्ठ उपाध्यक्ष भएर उद्योग वाणिज्य संघको नेतृत्व पंक्तिमा रहेर काम गरेका छन् ।

निर्वाचन समितिका संयोजक साहले दिएको जानकारी अनुसार अध्यक्षसहित १७ सदस्यीय कार्यसमितिका लागि ४२ जनाले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षका लागि मनोजकुमार साह, विकासकुमार चौधरी र अम्भुप्रसाद साहले उम्मेदवारी दिएका छन् । त्यस्तै उपाध्यक्षमा लक्ष्मण साह निर्विरोध निर्वाचित भइसकेका छन् ।

महिला उपाध्यक्षका लागि रिंकु साह, माया कुमारी र सरिता ठाकुरले उम्मेदवारी दिएकी छन् । त्यस्तै महासचिवका लागि फुलदेव पण्डित, गणेशकुमार साह, अशोककुमार चौधरी र सुधीर पजियारसहित चारजनाले उम्मेदवारी दिएका छन् ।

सचिवका लागि नरेन्द्रविक्रम साह, राकेश पजियार, श्रवण कुमार साह र गोपी कुमार साह प्रतिस्पर्धामा छन् । कोषाध्यक्षमा भने रामचन्द्र पजियार, मनोज कुमार शर्मा, राकेश कुमार साह र परमेश्वर साहबिच प्रतिस्पर्धा छ ।

एशोसिएट सदस्य पदमा दीपककुमार साह र अभिषेककुमार चौधरीबिच प्रतिस्पर्धा हुने देखिन्छ ।

त्यस्तै ६ जना कार्यसमिति सदस्यका लागि रमेश महतो, सन्तोषकुमार गामी, मणिशंकर प्रसाद साह, दुर्गेशकुमार साह, दीपमणि साह, प्रवीणकुमार साह सोनार, सुरेन्द्र दास, धर्वेन्द्र साह, गौरीशंकर साह, निरजकुमार साह, रामजीवन साह, राकेशकुमार साह, जीवछ साह, बलरामकुमार साह, ध्रुब कुमार साह, दिलिप कुमार साह र सुनिल दास कथबनियाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै सम्बद्ध सदस्यमा जनकपुरधाम कपडा तथा रेडिमेड र जनकपुरधाम सुनचाँदी व्यवसायी संघको उम्मेदवारी परेको छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन भदौ २९ गते शनिबार हुँदैछ । निर्वाचनअघि उम्मेदवारहरू मतदाताको घर–घरमा पुगेर आफ्नो लागि भोट मागिरहेका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघमा अहिले ४ हजार ७६ सदस्य मतदाता रहेका छन् । आज रातिदेखि नै मतगणना हुने बताइएको छ ।

हेर्नुहोस् तस्बिरहरु