‘केवल व्यवसायीकै सम्मान तथा पहिचानका विषयलाई चुनावी नारा बनाउनु उचित होइन’

-नित्यानन्द मण्डल
२८ भदौ । जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिवार निर्वाचन हुँदैछ । मतदाता रिझाउन कोठे बैठकदेखि लिएर अबेर रातिसम्म जनकपुरदेखि बर्दिबासका होटलहरु भरिभराउ रहेको पाइयो । तर, प्राय: उम्मेदवारमा नौलो सोच तथा चिन्तनको सर्वथा अभाव देखियो । व्यवसायीको सबभन्दा निकटतम सम्बन्ध रहेको ग्राहक किंवा उपभोक्ताको हकहितमा एक शब्द पनि नबोल्नु केवल व्यवसायीहरुकै सम्मान तथा पहिचानका विषयलाई चुनावी नारा बनाउनु कदापि उचित होइन ।
उनीहरुले हजारौं खर्चेर सार्वजनिक गरेका विज्ञापन तथा प्रचार सामग्रीहरु हेर्दा यो कुरा आफैं छर्लङ्ग हुन्छ । प्रतिस्पर्धी भनिएका उम्मेदवारहरुको पनि प्रचार सामग्री काटीकुटी उस्ताउस्तै खालका रहने गरेकाले पनि लाग्छ यिनीहरुमा कुनै एजेण्डा नै छैन् । जबसम्म ग्राहकको हृदय तथा विश्वास जितिँदैन् तबसम्म उनीहरुले भने झैं उद्योगी व्यवसायीहरुको मर्यादित पहिचान कोही जिते पनि दिलाउन सक्ने वातावरणको निर्माण हुन् सक्दैन् ।
एउटै ठाउँमा लहरै लागेर बेचिरहेका सामानको भाउ मात्रै होइन सुनदेखि नुनसम्म, कपडा लत्ताको त कुरै नगरौं हिँगदेखि हर्दीसम्मको मूल्य भने पसलैपिच्छै फरक–फरक रहँदा कसरी ग्राहकको विश्वास जितिने हो प्रश्न पक्कै पनि अस्वभाविक होइन । अनि त दैनिक उपभोग्यवस्तु, विहेवारीका कपडालत्ता, श्राद्धकर्म र भोजभतेरका सामानहरूको किनमेल सीमापारी भारतीय बजार यथेष्ट रुपमा नै गर्ने गरिएको छ । झन् जटही-जनकपुर ६ लेन सडक तथा रेल्वे सुचारु भएपछि त १ किलो चिनी ल्याउन तथा बालबच्चालाई शनिवार विदा मनाउनका लागि पनि भारतीय बजार नै यहाँ अधिकाँश उपभोक्ता जाने गरेका छन् । झन् रेल्वे सुचारु भएपछि त जयनगर पनि गुलजार नै हुन्छ ।
त्यसैले सीमापार हुने किनमेल तथा कालोबजारीलाई रोक्नु नयाँ नेतृत्वको प्राथमिक चुनौती हुनेछ । होइन भने स्थानीय उत्सवधर्मी यूवा कमिटीहरुमा पहलकदमी देखाएर चुनावताका पार्टी तथा नेताका लागि मरिहत्ते गरेर चुनाव जिताउने, जातीयताको दुर्गन्ध सबैक्षेत्रमा फैलाउने कार्यबाहेक अरु केहीँ गर्न नसकिरहेको अवस्था छ । अनि तिनीहरुको अन्तिम खुड्किलो भनेको जउवासंघको राजनीति अनि त्यसमा जितेपछि अन्य क्षेत्रको राजनीतिमा भाग लिन सक्ने अवस्थाको निर्माण पूर्वपदाधिकारीहरुको कैरिअरको फेहरिस्त हेर्दा प्रष्ट हुन्छ ।
यसरी आजको दिनमा जनकपुरका व्यवसायीहरु गन्तव्यविहिन भए जस्तो प्रतित हुन्छ । यिनीहरुले आफ्नो विशिष्ट चरित्र गुमाएको जस्तो लाग्छ । जनकपुरमा धमाधम घरहरु थपिदैं गएपनि यो उराठ लाग्दो शहरको रुपमा आफुलाई विकसित गरिरहेको भान हुन्छ । किनभने तिनै व्यवसायीहरुको पसल तथा घर अगाडि फोहरका डंगुर हुन्छन् । ९० करोड हिन्दुहरुको आस्थाको केन्द्र जानकी मन्दिर अगाडि नै आलिशान महल तिनीहरुले नै ठड्याएका छन् ।
छेउछाउका सडक तथा गल्ली साँघुरा छन्, अनि कसरी हुन्छ नगरको धार्मिक साँस्कृतिक पर्यटनको सम्भाव्यता तथा तिनको विकास ? त्यसैले जनकपुरको धार्मिक–सांस्कृतिक आधार कता हो कता हराइरहेको जस्तो लाग्छ ।
जउवासंघको वर्तमान निराशाजनक देखिन्छ र उन्नत भविष्यको स्पष्ट आधार भेटाउन गाह्रो छ । यसको कारण भने जनकपुर आफ्नै चारित्रिक द्वन्दमा फसेको छ । यस शहरको उक्त चारित्रिक द्वन्दको प्रकृति र प्रवृत्ति बुझ्न यसको ऐतिहासिक पृष्ठभूमीलाइ खोतल्नु नितान्त आवश्यक देखिन्छ ।
वर्तमान जनकपुरको निर्माणमा वैष्णव सम्प्रदायका सन्तहरुको महत्वपूर्ण भूमिका रहेको छ । सन् १६७१ देखि नै जनकपुर भने वैष्णव सम्प्रदायको निम्ति आकर्षणको केन्द्र बन्यो । पोखरीको घाटमा कुटी बनाई अनवरत सीतारामको जप गर्ने सन्तहरुले नै आधुनिक जनकपुरको जग हालेको बताइन्छ । विस्तारै जनकपुर र छेउछाउको गाउँहरुमा अन्य ठुल–ठुला मठ् र मन्दिरहरुको निर्माण भएको हुनुपर्दछ जुन प्रक्रिया अहिलेसम्म निकै फितलोरुपमा भएपनि चलिरहेको पाउन सकिन्छ । मन्दिर बन्ने क्रम जनकपुर र छेउछाउको गाउँहरुमा अहिलेसम्म रोकिएको छैन ।
धर्म यहाँको सामाजिक चेतनाको प्राण हो । भव्य जानकी मन्दिरको निर्माणले जनकपुरलाई नेपालको पूर्वीय तराई र त्यससँग टाँसिएका उत्तरी विहारका जिल्लाहरुको धार्मिक केन्द्रकै रुपमा विकसित गर्न निकै महत्वपूर्ण भूमिका खेलेको हुनुपर्दछ । जनकपुरको यी धार्मिक गतिविधिहरुले यस क्षेत्रको मानिसको जीवनलाई सांस्कृतिक आधार प्रदान गरे । त्यतिमात्र नभई विश्वकै हिन्दुहरुको आस्थाका केन्द्रहरुमध्ये एक महत्वपूर्ण केन्द्रका रुपमा आफुलाई परिचित गराए ।
यसरी जनकपुरले आफ्नो धार्मिक–सांस्कृतिक चरित्र निर्माण गरेको पाइन्छ जसले यस क्षेत्रमा बसोवास गर्ने मानिसहरुको जीवनलाइ भने निकै प्रभावित गरेको पाईन्छ । त्यसैले यसको अस्मितालाई कायम गर्नु पनि व्यापारीहरुको जिम्मेवारी हो । यसरी वैष्णव सम्प्रदायका सन्तहरु जनकपुरमा आफूलाई पहिलो वर्गको रुपमा उपस्थित गरे । यिनीहरुले नै आधुनिक जनकपुरको जग बसाले ।
आधुनिक जनकपुर पौराणिक जनकपुरको भन्दा फरक चरित्र बोकेको हुनु पर्दछ । अष्टावक्रको साख्य योग र राजर्षि जनकको ब्रम्ह चिन्तन, वैष्णव सम्प्रदायको भाव योगको भन्दा निकै फरक कुरा हो । त्यसैले आधुनिक जनकपुरको चरित्र निर्माणमा पौराणिक जनकपुरको चरित्रले कुनैपनि उल्लेख्य प्रभाव नपारेको विश्लेषण गर्न सकिन्छ ।
जनकपुरमा रहेका साधुहरुको उल्लेख्य उपस्थितिले वरपरको गाउँहरुबाट धार्मिक हिसाबले तिर्थयात्राको निम्ति मानिसहरु जनकपुरसँगको सम्पर्क राखेको हुनुपर्दछ । जानकी नवमी, झुलनोत्सव, पूर्णिमा , विवाहपञ्चमी, रामनवमी, दशहरा, परिक्रमा लगायतका अन्य पर्वहरुमा आसपासका गाउँहरु तथा अन्य क्षेत्रबाट जनकपुरमा मानिसहरुको घुँइचो लाग्ने नै भयो । यी मेलाहरु व्यापारी वर्गका लागि भने आम्दानी गर्ने निकै महत्वपूर्ण अवसर हुने नै भयो । तर बढी ठगीको शिकार हुने गरेकाले यी पर्वहरुमा तीर्थालुहरु पहिलेको तुलनामा घट्दै गएको छ । विस्तारै व्यापारीहरु यहाँ बस्दै गएको हुनुपर्दछ जसको मुख्य उद्देश्य भने व्यापार गर्नु नै थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


