डिएफओ झाको सरुवामा मुख्यमन्त्री सिंहले रकम खाएको सांसद दासको आरोप

जनकपुरधाम, २७ भदौ । जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशकी सांसद ललिता दासले वन कार्यालय लहानका प्रमुख (अधिकृत) सुजित झाको सरुवामा मुख्यमन्त्री सतिशकुमार सिंहले रकम खाएको आरोप लगाएकी छन् ।
बिहीबार बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै सांसद दासले यस्तो आरोप लगाएकी हुन् ।
अवैध उत्खनन् गर्ने माफियाहरुसँग मुख्यमन्त्री सिंहले रकमको चलखेल गरेको आरोप लगाउँदै उनले भनिन्, ‘मुख्यमन्त्रीले उनीहरुलाई संरक्षण गरेर गुण्डाराज स्थापित गर्न खोजिरहेका छन् ।’
‘कर्मचारीको सरुवा बढुवा हुनु स्वभाविक हो, भइरहन्छ । त्यो ठूलो कुरा होइन । तर कुनै कर्मचारीलाई प्रतिशोधको भावनाले गुण्डाराज कायम गर्नका लागि राम्रो काम गरेको कारणले गर्दा पुरस्कृत गर्ने ठाउँमा सरुवा गरेर अपमान गरिन्छ । निरुत्साहित गरिन्छ, ‘उनले भनिन् ।
उनले भनिन्, ‘सिरहा जिल्लामा कार्यरत वन अधिकृत सुजित कुमार झा वन कार्यालयमा गएदेखि उनको कामहरुले जनतामा धेरै प्रसन्नता छाएको थियो । उनले काम गरेर देखाए । वनको जग्गा अतिक्रमण गरेका मारुती सिमेन्ट उद्योगलगायत अवैध उत्खनन् गर्नेहरुलाई उनले पाखा लगाईदिए । तर, उनको काम वनमन्त्रीलाई पचेन त्यसैले उनको सरुवा गरियो । यसमा पक्कै पनि रकम लेनदेनको चलखेल भएको हो ।’
सांसद दासले आफूहरु जनताको गोठाला रहेकोले आफूहरुको आँखा सही गलतमा हुनुपर्ने र आफूहरुले सहीलाई सही र गलतलाई गलत भन्दिनुपर्ने आवश्यकता रहेको बताइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


