जनताले प्रदेश सरकारको अनुभूति गर्न सकेनन् : सांसद झा

जनकपुरधाम, २७ भदौ । मधेश प्रदेशका नेपाली कांग्रेसका सांसद कुमरकान्त झाले जनताले प्रदेश सरकारको अनुभूति अहिलेसम्म पनि गर्न नसकेको आरोप लगाएका छन् ।
बिहीबार बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले प्रदेश सरकार बनेपछि पनि जनताले महशुस हुनेगरी विकासका काम हुन नसकेको गुनासो गरेका हुन् ।
प्रदेशमा जनप्रतिनिधि आएपछि प्रदेशको विकासले गति लिने आशा गरेपनि जनताले त्यस्तो अनुभूति गर्न नपाएको उनको भनाइ थियो । सरसफाइ, सडक सञ्जाल विस्तार, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा आशा गरेअनुसारको परिवर्तन नदेखिएको उनले बताए ।
नेपाली कांग्रेस मधेश प्रदेशसभा संसदीय समितिका प्रमुख सचेतक समेत रहेका नेता झाले भने, ‘हामी सांसदहरु यहाँ प्रदेशसभामा किन छौं ? हाम्रो भनाईको यहाँ कुनै सुनुवाइ नै हुँदैन । हामी यहाँ खाली बकबास गर्नका लागि आएका हौं त ?’
उनले जनताको लागि बनेको सरकारको जनताले अनुभूति गर्न नपाउनु सबैभन्दा ठूलो दुःखको विषय रहेको जिकिरसमेत गरे । नेता झाले शिक्षा, स्वास्थ्य, कृषिको विकास नारामा मात्र सिमित रहेकोप्रति दुःख व्यक्त गरे ।
प्रदेशको राजधानी जनकपुरधाममा ई–रिक्साहरुको आतंक रहेको बताउँदै नेता झाले ई–रिक्साहरुको रुट निर्धारण हुनुपर्ने माग गरेका छन् । उनले ई–रिक्साहरुलाई पनि करको दायरामा ल्याउन प्रदेश सरकारसँग आग्रह गर्दै ठूला सवारीसाधनहरुलाई नगरभित्र प्रवेश निषेध गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे ।
अर्को प्रसंगमा बोल्दै उनले भने, ‘हेल्थपोष्टहरुमा २२ जनाको दरबन्दी हुने तर प्रादेशिक अस्पताल जनकपुरधाममा जनशक्ति खोई त ? यस अस्पताललाई भगवानकै भरोसामा छोड्दिने हो त ?’
करको दर नभई दायरा बढाउँदा नगरबासीमा करको भार पनि नपर्ने र उपमहानगरपालिकाको आम्दानी समेत बढ्ने उनको ठहर छ ।
फुटपाथमा पसल तथा व्यवसाय गर्ने र साइकल र ठेलामा व्यापार गर्नेहरुको पनि व्यवसाय दर्ता गर्नुपर्ने लगायत बजेट, नीति तथा कार्यक्रममा समावेश गर्नेुपर्ने भन्दै सुझाव दिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


