व्यवसायीको वास्तविक समस्या समाधान गर्न अघि बढ्छु : जितेन्द्र

जनकपुरधाम, २६ भदौ । जनकपुरधाम उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी जितेन्द्रप्रसाद साहले आफू व्यवसायीको समस्यामा पहल गर्न वा आश्वासन दिन मात्रै नभई व्यवसायीका वास्तविक समस्या समाधान गर्न अघि बढेको भन्दै आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।
‘अहिले धेरै साथीहरुले व्यवसायीको समस्या सुनिरहेको छु वा समस्या समाधान गर्न पहल गरिरहेको छु भन्ने आश्वासन दिइरहनुभएको छ,’ एक कार्यक्रममा उनले भने, ‘म उद्योगी व्यवसायीहरुलाई झुटा आश्वासन दिन्न र कुनै पनि समस्याको विषयमा पहल मात्रै होइन सम्बन्धित निकायमा पुर्याएर हल गर्नेछु ।’
पछिल्लो समय सरकारले व्यवसायीका वास्तविक समस्याको विषयमा समेत सुनुवाइ नगरेको भन्दै साहले त्यसका लागि दरिलो संघ चाहिएको तर्क गरे ।
‘मलाई अन्धो, बहिरो र लंगडो संघ चाहिएको छैन’, उनले भने, ‘संघ नेतृत्वले उद्योगी–व्यवसायीको समस्या देख्ने, सुन्ने र समाधानका लागि सम्बन्धित निकायमा लिएर हिँड्नसक्ने हुनुपर्छ ।’
अहिले संघमा उद्योगी–व्यवसायीको समस्यालाई सरकारसँग निडर र निर्धक्क भएर राख्नसक्ने व्यक्तिको आवश्यकता भएको र उक्त व्यक्ति आफू भएको समेत जितेन्द्रको भनाइ थियो । अहिले संघले प्रदेश, जिल्ला नगर, वस्तुगत संघ र एसोसिएट्स सदस्यहरुबीच समन्वय गरेर व्यवसायीका वास्तविक समस्या समाधान गर्न भन्दै उनले जबसम्म जिल्ला नगर तथा वस्तुगतका साथीहरुले संघको नेतृत्वलाई गाली गर्ने अवस्था आइरहन्छ तबसम्म संघ सुधार भएको नमानिनेसमेत दाबी गरे ।
अहिले संघको पुरानो गरिमामा आँच आएको भन्दै उनले आफूलाई जिताएर पठाएको अवस्थामा उक्त गरिमालाई उच्च बनाउँदै सम्मानित व्यवसायी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
‘राज्यलाई सबैभन्दा बढी योगदान दिँदै आएको हामी निजी क्षेत्रलाई हेर्ने नजर एकदमै गलत छ भने जाजय माग राख्दा पनि सरकारले सुनुवाइ गरिहेको छैन’, उनले भने, ‘हामीले राज्यसँग माग्ने होइन देशको अर्थतन्त्र सुधारका लागि राज्यले हामीसँग सल्लाह सुझाव माग्न आउने अवस्था बनाउने छु ।’
उक्त सुधारका लागि संघको आसन्न निर्वाचनमा आफूलाई जिताएर पठाउनसमेत जितेन्द्रले उद्योगी–व्यवसायीलाई आग्रह गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


