जनकपुरधाम, २६ भदौ । जनकपुरधाम उद्योग वाणिज्य संघको सचिव पदका आकांक्षी नरेन्द्र बिक्रम साह (निरज)ले आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । हाल कार्यकारिणी सदस्यसमेत रहेका नरेन्द्रले संघको आउँदो चुनावमार्फत सचिवमा आफ्नो जित निश्चित रहेको बताएका हुन् ।

नरेन्द्रले भदौ २९ गते हुने निर्वाचनमार्फत चयन हुने नयाँ नेतृत्वमा सचिवकारुपमा उम्मेद्वारी दिएको र जित निश्चित रहेको बताएका हुन् । संघको सचिवमा निर्वाचित बनेपछि जनकपुरधामका सम्पूर्ण साना ठूला व्यवसायीको छाता संगठनकारुपमा जनकपुरधाम उद्योग वाणिज्य संघलाई अघि बढाउने नरेन्द्रको भनाई छ ।

‘मधेश प्रदेशको राजधानीको उद्योग वाणिज्य संघलाई थप सुदृढ र बलियो बनाउने गरी काम गर्छु,’ नरेन्द्रले भने, ‘यहाँका सम्पूर्ण साना ठूला व्यवसायीले अनुभव गर्नेगरी काम हुन्छ ।’ यस्तै, जिल्लाभित्र रहेका वस्तुगत संघलाई छुट्टै पहिचान दिलाउने योजना रहेको सुनाउँदै ह्यान्डिक्राफ्ट, हस्तकला, गार्मेन्ट जस्ता महत्वपूर्ण उद्योगलाई थप व्यवस्थित बनाउने योजना सुनाए ।

नरेन्द्रले जिल्लामा रहेका विभिन्न समुदायको मौलिकतालाई ब्राण्डकारुपमा अघि बढाउन नेपाल उद्योग वाणिज्य महासंघ, केन्द्र, प्रदेश र स्थानीय सरकारसँग समन्वय अघि बढाउने समेत बताए । यही भदौ २९ गते हुने संघको निर्वाचनमार्फत १७ सदस्यीय कार्यसमिति चयन हुन्छ ।

‘जिल्लामा रहेका सबै उद्योगी व्यवसायीलाई समेटेर चुनावमा होमिएका र्छौं,’ नरेन्द्रले भने, ‘जितेपछि सबै उद्योगी व्यवसायीलाई समेटेर जनकपुरधामको बलियो र मजबुत व्यवसायीक छाता संगठनकारुपमा जनकपुरधाम उद्योग वाणिज्य संघलाई अघि बढाउँछु ।’