वाइफाइका लागि विवाद हुँदा श्रीमतीको हत्या, दुई छोरी घाइते

बारा, २६ भदौ । मधेश प्रदेशको बारा जिल्लामा वाइफाइका लागि विवाद हुँदा श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
बाराको निजगढ नगरपालिका–९ की ४० वर्षीया लक्ष्मी राईको हत्या गरिएको हो ।
मंगलबार साँझ करिब साढे ७ बजेको समयमा ४६ वर्षीय बिमलकुमार वस्नेतले मादक पदार्थ सेवन गरेर घर फर्केपछि वाइफाइ रिचार्जको विषयमा श्रीमतीसँग विवाद भएको थियो । चार दिनदेखि घरमा वाइफाइ सेवा बन्द हुँदा श्रीमतीले रिचार्ज गर्न पैसा नहुने तर रक्सी खान पैसा हुने भनेपछि दुबैजनाबिच विवाद चर्केको थियो । त्यसपछि बिमलले खुर्पाले श्रीमतीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए ।
उनलाई बचाउन आएकी उनकी छोरीहरु १८ वर्षीया गंगा र १५ वर्षीया जमुना पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । गंगाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
श्रीमान बिमललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


